• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेपाली संसदीय अभ्यास अध्ययन गर्न बंगलादेशको टोली नेपालमा

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालको संसदीय अभ्यासमा बंगलादेशले चासाे देखाएकाे छ । विशेषगरी दलित, आदिवासी र अल्पसंख्यकको संसद्‍मा प्रतिनिधित्व तथा अधिकारबारे नेपालले गरेकाे काममा उनीहरुकाे चासाे देखिएकाे हाे । याे विषयमा अध्ययन गर्न ब‌ंगलादेशकाे संसदीय टाेली नेपाल भ्रमणमा छ । 

बंगलादेश संसद्‍को दलित र अल्पसंख्यक आदिवासीसँग सरोकार राख्‍ने समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको टोलीले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सिंहदरबारस्थित कार्यकक्षमा भेट गरेका छन् ।

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले दलित, आदिवासी तथा अल्पसंख्यकको बारेमा विशेष अधिकारको प्रदान गरेको बताए ।  उनले संघ, प्रदेश र स्थानीय तहसम्म सो समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको बारेमा जानकारी गराए । 

‘नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारिरिक अवस्था लगायतका आधारमा भेदभाव नगरिने कुरालाई सुनिश्चित गरेको छ’ – उनले भने – ‘संघीय संसद्ले पनि यस सम्बन्धी मौलिक तथा अन्य थुप्रै कानुन निर्माण गरिसकेको छ ।’

बंगलादेशको प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै सभापति मनोरञ्जनशील गोपालले नेपालले दलित र आदिवासीका अधिकारबारे गरेको कानुनी व्यवस्था प्रशंसनीय रहेको बताए । 

उनले बंगलादेश सरकार दलित, अल्पसंख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारमा लागि परेको बताए । उनले भने– ‘नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बंगलादेशले सिक्दै कानुनी रुपमै सुधार गर्नेछ ।’

भेटका क्रममा दुबै देशका प्रतिनिधिले नेपाल र बंगलादेशबीच व्यापार, उर्जा, शिक्षा र पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । 


 

प्रतिकृया दिनुहोस