राष्ट्रिय सभा सदस्य छान्न मत हाल्ने ठाउँ ताेकियाे
काठमाडाैं ।आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनकाे भाेट हाल्ने ठाउँ तोकिएको छ । निर्वाचन आयोगले प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह मतदानस्थल तोकेको छ ।
उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ गरी जम्मा ३६७ जना मतदाता छन् । आयोगले आज विज्ञप्ति जारी गरी प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन मतदानस्थल ताेकेकाे छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना मतदाता छन् ।
प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता छन् ।
गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना मतदाता छन् ।
प्रदेश नं ५ को दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना मतदाता छन् । कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन मतदानस्थल तोकिएको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना मतदाता रहेका छन् ।
त्यसैगरी आयोगले सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको छ । उक्त केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता छन् ।
सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ गरी कूल जम्मा २ हजार ५६ जना मतदाता रहेको आयोगले जनाएको छ ।


प्रतिकृया दिनुहोस