• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

केदार कार्कीले गठबन्धनको मुख्यमन्त्रीका रुपमा काम गर्नुपर्छ : राजेन्द्र राई

सनराइज खबर संवाददाता

काठमाडाैं । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले काेशीमा प्रदेश सभा विघटन गरेर ताजा जनादेशमा जानुपर्ने बताउनुभएकाे छ ।

बुधबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री केदार कार्कीले राख्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता राईले काेशीमा मध्यावधि चुनावमा जानुपर्ने बताउनुभयाे । पटक-पटक सरकार फेरबदल हुँदा प्रदेश सभाको मर्यादा धुमिल र धुलिसात भएको र प्रदेशप्रति नै वितृष्णा पैदा भएकाले ताजा जनादेशमा जानुपर्ने उहाँले बताउनुभयाे ।

गठबन्धनले मुख्यमन्त्रीमा अर्कै उम्मेदवार अघि सारेकाले सिद्धान्तत: गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वास दिन नमिल्ने नेता राईले बताउनुभयाे । तर काेशीकाे स्थिरताका लागि मुख्यमन्त्री कार्कीलाई विश्वासकाे मत दिनुपर्ने अवस्था रहेकाे उहाँले बताउनुभयाे ।

एमाले र कांग्रेसबाट विद्रोह गरेका ७ सांसद्‍बाट बनेको गठबन्धन अस्वभाविक गठबन्धन भएको आराेप समेत नेता राईले लगाउनुभयो ।  

मुख्यमन्त्री कार्मीलाई विश्वासकाे मत दिएर, शंकाकाे सुविधा दिँदै गठबन्धनकै मुख्यमन्त्री बनाउने निर्णय भएकाे भन्दै उहाँले कार्कीले गठबन्धनको मुख्यमन्त्रीका रुपमा काम गर्नुपर्ने बताउनुभयाे ।  'उहाँलाई शंकाको सुविधा दिँदै गठबन्धनकै मुख्यमन्त्री बनाउने निर्णय भएको छ, उहाँले गठबन्धनको मुख्यमन्त्रीका रुपमा काम गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं, हामी पनि सरकारमा सहभागी हुने, मिलेर जाने'- उहाँले भन्नुभयाे ।

केदार कार्कीसँगै कांग्रेस, एकीकृत समाजवादी, माओवादी, जसपाका सांसद्ले एकअर्का दलकाे मत पाएकाे भन्दै नेता राईले कार्कीलाई गठबन्धनकाे मुख्यमन्त्री बनाइदिएकाेमा नेकवा एमालेलाई धन्यवाद समेत दिनुभयाे ।

प्रतिकृया दिनुहोस