राष्ट्रिय सभा निर्वाचन : ११ दलले पाए चुनाव चिन्ह
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिने राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचनका लागि दर्ता भएका ११ दललाई आयोगले चिन्ह प्रदान गरेको हो ।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सूर्य, नेपाली कांग्रेसले रुख, समाजवादी पार्टीले पाँच औंलासहितको हत्केला, राष्ट्रिय जनाता पार्टीले ढल्केको छाता र राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई चिह्न प्राप्त गरेका छन् ।
यी बाहेक राष्ट्रिय जनता पार्टी (संयुक्त) ले हलो, राष्ट्रिय जनमोर्चाले गिलास, नेपाल मजदुर किसान पार्टीले मादल, नेपाल सङ्घीय सामाजवादी पार्टीले बस, नेपाली जनता दलले गोरुगाडा चक्का नौ पाङ्ग्रो र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर चुनाव चिह्न पाएका छन् ।
यस्तै आयोगले चुनावको लागि सात जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकेको छ । दुई न्यायाधीशलाई जगेडा निर्वाचन अधिकृत तोकेको छ ।
आयोगका अनुसार मोरङका मोदिनीप्रसाद पौडेल, धनुषाका राजकुमार खतिवडा, ललिपुरका मोहनबहादुर कार्की, कास्कीका काजीबहादुर राई, दाङका रितेन्द्र थापा, सुर्खेतका राजेन्द्रकुमार आचार्य र डोटीका विदुर काफ्ले निर्वाचन अधिकृत तोकिएका छन् ।
त्यस्तै, जगेडा निर्वाचन अधिकृतमा कैलाशप्रसाद सुुवेदी र दिवाकर भट्टलाई तोकिएको छ । न्याय परिषद्को परामर्शमा आयोगले उनीहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको हो ।


प्रतिकृया दिनुहोस