• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सूचना प्रविधि विधेयकमा कांग्रेसको असहमति

सनराइज खबर संवाददाता

काठमाडौं । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि नेपाली कांग्रेसका सांसद्‍ले असहमति जनाएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा चार महिना देखि छलफलमा रहेको सो विधेयक पारित गर्न मंगलबार समितिले बैठक बोलाएको थियो । 

आफूहरुले राखेको संशोधन प्रस्तावमाथि समितिले बेवास्ता गरेको भन्दै कांग्रेसका सांसद्हरुले विधेयकमा असहमति जनाए । 

बैठकमा कांग्रेसका सांसद बहादुरसिंह लामाले भने– ‘उपसमितिमा छलफल भएपछि तयार पारिएको प्रतिवेदनमा हामीले राखेको संशोधन प्रस्तावलाई बेवास्ता गरिएको छ । संशोधन नभए नोट अफ डिसेन्ट लेख्‍न बाध्य हुनेछौं ।’

विधेयकमा दफा ९१ देखि ९४ सम्म समाजिक सञ्जाल सम्बन्धी गरिएको व्यवस्था हटाउनुपर्ने उनीहरुको अडान छ । साथै, विधेयकको दुरुपयोग गर्न नहुने सम्बन्धी व्यवस्था भएको दफा ८८ अपुग भएकोले त्यसलाई हटाइनुपर्ने उनीहरुको अडान छ । 

सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने तथा हतोत्साही गरेमा पाँच वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ । 

समितिका सभापति कल्याणीकुमारी खड्काले ३६ बुँदामा संशोधन भएकोले सहमति जानाउन आग्रह गरेकी थिइन् । 

उनले भनिन्– ‘फरक मत राख्‍नेले सहमति जनाउन पनि नसक्ने अनि आधारहरु पनि नदिने, अडान लिइरहने प्रवृति देखिएको छ । आवश्यक बुँदामा संशोधन भैसकेको छ ।’

मंगलबार सहमति जुटाउन केही समय बैठक स्थगित गरिएको थियो । तर, सहमति जुटन सकेन । सोही विषयमाथि समतितिमा आइतबार छलफल हुने छ । गत फागुन १४ गतेदेखि समितिमा सो विधेयकमाथि दफावार छलफल सुरु भएको थियो । 


 

प्रतिकृया दिनुहोस