• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

मानसिक अस्वस्थताका आधारमा विभेद गर्न पाइँदैन – सांसद् पुरी

सनराइज खबर संवाददाता

काठमाडौं । मानसिक अस्वस्थतालाई अयोग्यताका रुपमा संविधान र कानुनमा राख्न नहुने विचार नेकपाका सांसद् ठगेन्द्रप्रसाद पुरीले राखेका छन् । 

संविधान र कानुनमा विभिन्न पदहरुबाट मुक्त हुने अवस्थामा मानसिक अस्वस्थतालाई पनि राखिनु गलत भएको धारणा पुरीले राष्ट्रिय सभा बैठकमा राखेका हुन् । आजको विशेष समयमा बोल्दै उनले भने– ‘मगज बिग्रेको, मानसिक सन्तुलन गुमाएको जस्ता कुरालाई अयोग्यताका रुपमा कानुनमा राखिएको छ । यसो गर्नु गलत हो ।’

संविधानको धारा १३१ मा सर्वोच्च अदालतका न्यायाधीश मानसिक रुपमा अस्वस्थ भएमा पदमुक्त हुने व्यवस्था रहेको तर्फ ध्यानाकर्षण गराउँदै उनले भने– ‘आजसम्म एकैजना न्यायाधीशलाई मानसिक अस्वस्थताका आधारमा पदमुक्त गरिएको छैन ।’

‘मानसिक अस्वस्थता व्यक्तिको कमजोरी होइन’– उनले भने– ‘मानसिक अस्वस्थतालाई लाञ्छनाका रुपमा प्रयोग गर्न हुन्न ।’

शारिरीक तथा मानसिक अस्वस्थतालाई आधार मानेर कसैप्रति पनि कुनै पनि प्रकारको असमान र विभेदपूर्ण व्यवहार गर्न नहुने विचार राख्दै उनले भने– ‘यस्ता कानुन सच्याइयोस् ।’
 

प्रतिकृया दिनुहोस