• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

विधेयक पारित गर्न मन्त्रीलाई नै चासो भएन– दिनानाथ शर्मा

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकको पहिलो वक्ता थिए नेकपाका दिनानाथ शर्मा । संघीय संसद्को पाँचौं अधिवेशनको पहिलो दिन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै दलका नेतालाई विचार राख्ने अवसर दिएका थिए । 

दिनानाथले राजनीतिको आगनमा प्रवेश गरेको भन्दै दिनानाथले भने– ‘पाँचौं अधिवेशनको आगनबाट देश निर्माणका लागि महत्वपूर्ण इतिहास सिर्जना गर्नेछौं । ऐतिहासिक महत्वका विधेयक पारित गर्नेछौं । ’

संसद्को पाँचौं अधिवेशन विगतको भन्दा उच्चस्तरको र शानदार हुने उनले बताए । अधिवेशनले केही महत्वपूर्ण विधेयकलाई निकास दिनुपर्ने भन्दै उनले महत्वपूर्ण विधेयकहरु छिटोभन्दा छिटो पारित गर्नुपर्ने विचार राखे ।

राष्ट्रिय सभा सत्तापक्ष र प्रतिपक्ष दुवैको हो भन्दै उनले विगतका चार अधिवेशन सहमतिमा चलेको स्मरण गरे । राष्ट्रिय सभाको परिपक्वता र गरिमालाई आगामी दिनमा उच्च राखिने उनले बताए । 

राष्ट्रिय सभाले आफूसँग आएका महत्वपूर्ण विधेयकहरु बेलैमा पारित गरेर निकास दिन सधैं प्रयास गर्दै आएको उनले बताए । उनले गुनासो पनि राखे– ‘समितिका सभापतिहरुको गुनासो के रहेको छ भने विधेयक पारित गर्न मन्त्रीजीहरुले नै तदारुकता देखाउनुभएको छैन । विधेयक सम्बन्धी समितिको छलफलमा उहाँहरु आउन समय दिनुहुन्न । यसो भयो भने विधेयक पारित हुन ढिलाई हुन्छ ।’

आगामी दिनमा मन्त्रीहरु विधेयक छलफलमा उपस्थित नहुने अवस्था नहोस् भन्दै उनले भने– ‘आफ्ना विधेयक छिटोभन्दा छिटो निकासमा पुराउन आगामी दिनमा मन्त्रीजीहरुको ध्यानाकर्षण गराउँछु ।’


 

प्रतिकृया दिनुहोस