लाेकसेवाकाे नतिजा प्रकाशन व्यवस्थित नहुँदा विकृति
काठमाडौं । लोकसेवा आयोगकाे नतिजा प्रकाशित हुँदा दुई काेटामा पास हुने परीक्षार्थीले वैकल्पिकमा रहेकालाई काेटा बिक्री गर्ने गरेकाे पाइएकाे छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सांसदहरुले आयोगको नतिजा प्रकाशन पारदर्शी नहुँदा आर्थिक चलखेल भएकाेले यस्ता काम गर्नेलाई कारबाही गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन् ।
लोकसेवा आयोग सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको छलफलकमा आयोगको नतिजा प्रकाशनलाई थप व्यवस्थित बनाउनु पर्ने धारणा राखिएकाे हाे ।
याे समस्या सुल्झाउने उपाय बताउँदै सांसद रामसहायप्रसाद यादवले लोकसेवामा समावेशी र खुल्ला दुवैतर्फबाट एकै समयमा नतिजा प्रकाशन गर्न नहुने बताए ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खरिदारमा काम गर्ने कर्मचारीले नायब सुब्बामा नाम निकालेर खरिदार पद वैकल्पिकलाई बिक्री गर्ने गरेकाे पाइएकाे बताए । याे बारेमा जानकारी हुँदा समेत कानुन अभावमा उनीहरुलाई कारबाही गर्न नसकिएको उनले बताए ।
गल्ती गर्नेलाई कम्तिमा २ वर्ष लोकसेवा परीक्षामा सहभागी हुन नपाउने व्यवस्था विधेयकमा गर्न सके विकृति हटाउन सकिने धारणा उनले राखे ।
कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले काेटा बिक्री गर्नेलाई फौजदारी अभियोगमा कारबाही हुनुपर्ने धारणा राखे ।
यस्तै लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मौनालीले नतिजा प्रकाशनपछि खुल्ला तर्फबाट नियुक्ती लिएपछि आरक्षणको कोटा खाली भएमा आरक्षणबाटै वैकल्पीकमा परेकाले अवसर पाउने गरेको जानकारी दिए । उनले आयोग बाहेक अन्य निकायहरुमा समेत यही व्यवस्था भएको भन्दै विधेयकमा याे विषय उल्लेख गर्दा झन् प्रभावकारी हुने बताए ।


प्रतिकृया दिनुहोस