• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

पेश्की घटाउँदा कम भयाे विकास बजेट खर्च

सनराइज खबर संवाददाता

काठमाडौं । देश संघीय संरचनामा गए पनि विकास बजेट खर्च कम हुने प्रवृति सुधार हुन सकेकाे छैन । विकास निर्माणमा भौतिक प्रगति भएपनि समयमा नै बजेट निकासा हुन नसक्दा खर्च कम हुने गरेकाे हाे । 

बिहीबार प्रतिनिधी सभाको अर्थसमिति बैठकमा विकास बजेट खर्च कम हुने कारणबारे छलफल भएको छ । विभिन्‍न मन्त्रालयका सचिवहरुले बजेट खर्च कम हुनुकाे कारण बैठकमा पेश गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले ठेक्का प्रक्रिया सुरु भएपछि दिइने २० प्रतिशत रकमलाई १० प्रतिशतमा ल्याउनुले बजेट खर्च कम भएको बताए । यस्तै सार्वजनिक नियमावलीमा आएको परिवर्तनपछि म्याद थपको अन्योलता पनि विकास बजेट खर्च हुन नसकेकाे उनकाे भनाइ छ । 

१ खर्ब ४४ अर्ब कूल बजेट रहेकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अहिले सम्म १० प्रतिशत मात्र खर्च गरेकोे छ । 

त्यस्तै उर्जा जलस्रोत तथा सिँचाई सचिव दिनेशकुमार घिमिरेले अर्थ मन्त्रालयले ढिलाे बजेट निकासा गर्दा पनि खर्च कम गर्न सकिएकाे बताए । कतिपय आयोजना प्राधिकरणले आफ्नै स्रोतबाट खर्च गर्न सुरु गरेपनि बजेट निकासामा हुने ढिलाइका कारण खर्च न्यून देखिएकाे उनले प्रष्ट पारे । 

तर, अर्थसचिव डा.राजन खनालले अहिलेसम्म कूल बजेटको २० दशमलव १७ प्रतिशत बजेट खर्च भएको आँकडा प्रस्तुत गरे । साे खर्चमा पूँजीगत खर्चकाे हिस्सा ९ दशमलव २५ प्रतिशत मात्र भएको उनले बैठकमा जानकारी गराए । मन्त्रालयले विभिन्‍न बाहाना देखाइ खर्च गर्न नसक्नुलाई समीक्षाको विषय भन्दै उनले पेश्की घटाएकाेले खर्च कम हुन सकेकाे मान्‍न नसकिने धारणा राखे । 

यी बाहेक ठेक्का प्रक्रिया, जग्गा अधिग्रहण तथा तीनै तहकाे समन्वयमा हुन नसक्दा पनि विकास बजेट कम खर्च भएकाे बताइएकाे छ । 

बैठकमा सांसद्ले संघीयतापछि वित्तीय संक्रमणकाल आएको भन्दै विकास बजेट खर्च न्यून हुने अवस्था आउन नदिन मन्त्रालयले उचित कदम चाल्नुपर्ने सुझाव दिएका छन् । 
 

प्रतिकृया दिनुहोस