काेशीका मुख्यमन्त्रीलाई विश्वासकाे मत, इस्राइल मन्सुरीले पनि दिनुभयाे भाेट
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत पाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासकाे मत पाउनुभएकाे हाे । सभाकाे अध्यक्षता गरिरहनुभएका कांग्रेस सांसद् इस्राइल मन्सुरी समेतले मत दिएपछि उहाँले विश्वासको मत पाउनुभएको हो ।
९३ सदस्यीय प्रदेश सभामा आजकाे बैठकमा ७७ जना सांसद् उपस्थित भएकाेमा थापाकाे पक्षमा ४७, विपक्षमा ३० र मत दिन्न भन्ने पक्षमा शून्य मत परेकाे छ ।
विश्वासकाे मत माग्ने प्रस्तावमा मतदान गर्न र मत सच्याउन दिइएकाे समय सकिएपछि अध्यक्ष मण्डलका सदस्य गीता तिमिल्सिनालाई सभामुखकाे आसनमा निम्त्याएर मन्सुरी मतदानमा सहभागी हुनुभएकाे थियाे ।
मन्सुरीले मतदान गर्ने बेलामा प्रमुख प्रतिपक्षी नेकपा एमाले र राप्रपाले विराेध गरेका थिए । उनीहरुले संविधान मिच्न पाइँदैन भन्दै नाराबाजी समेत गरे । उपसभामुख सिर्जना दनुवार बिरामी भएपछि अध्यक्ष मण्डलका सदस्य एवं कांग्रेस सांसद् मन्सुरीले प्रदेश सभा बैठक चलाउनुभएकाे हाे ।
तत्कालीन सभामुख बाबुराम गाैतमलाई राजीनामा गराएर बहुमत पुर्याइ पुनः दाेस्राे पटक मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिनुभएकाे हाे । सभामुख गाैतमलाई राजीनामा गराएर बहुमत पुर्याउँदै थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री बनेको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार थापाले प्रदेश सभामा विश्वासकाे मत लिन लिनुभएकाे हाे ।
एमालेका हिक्मत कार्कीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बन्नुभएकाे थियाे ।सभामुखकाे हस्ताक्षर गराएर बहुमत पुर्याउँदै मुख्यमन्त्री नियुक्त हुनुभएका थापा सर्वाेच्च अदालतकाे आदेशले पदमुक्त हुनुभएकाे थियाे । सभामुखकाे हस्ताक्षर प्रयाेग गर्नु असंवैधानिक भएकाे ठहर गर्दै सर्वाेच्चले थापाकाे नियुक्ति बदर गरिदिएकाे थियाे ।
तर पछि थापाले सभामुख गाैतमलाई राजीनामा गराइ बहुमत पुर्याएर दाेस्राे पटक मुख्यमन्त्री बन्नुभएकाे थियाे ।


प्रतिकृया दिनुहोस