काेशी प्रदेश सभा बैठक : तत्कालीन मुख्यमन्त्री कार्कीले ल्याएकाे बजेट अध्यादेश सर्वसम्मतिले स्वीकृत
काठमाडाैं । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएकाे बजेटसम्बन्धी अध्यादेश काेशी प्रदेश सभाबाट स्वीकृत भएकाे छ ।
शुक्रबार बसेकाे प्रदेश सभा बैठकबाट प्रदेश सरकारकाे अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक वर्ष २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सर्वसम्मतिले स्वीकृत भएकाे हाे ।
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रदेश सभा नियमावलीको नियम ८१ को उपनियम (४) बमोजिम साे प्रस्ताव प्रस्तुत गर्नुभएकाे थियाे । मन्त्री गाैतमले प्रस्तुत गर्नुभएकाे साे प्रस्तावलाई उपसभामुख सृजना दनुवारले निर्णयार्थ पेस गर्दै सर्वसम्मतिले स्वीकृत भएकाे घाेषणा गर्नुभएकाे हाे ।
त्यसअघि प्रदेश सभामा सत्तारूढ दलले दर्ता गरेकाे बजेट अध्यादेश अस्वीकारकाे प्रस्ताव फिर्ता भएको थियाे । गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री कार्कीले अध्यादेशमार्फत ल्याएकाे बजेट अध्यादेश जेठ १४ गते बसेकाे प्रदेश सभा बैठकमा टेबल गर्नुभएकाे थियाे । अध्यादेश अस्वीकारका लागि कांग्रेसले छुट्टै तथा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्वीकारकाे प्रस्ताव दर्ता गरेका थिए कांग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद् नारायण बुर्जामगरले प्रदेशकाे समीकरण र परिस्थिति बदलिएका कारण अस्वीकारकाे प्रस्ताव फिर्ता लिएको बताउनुभयाे ।
अध्यादेश अस्वीकारकाे प्रस्ताव फिर्ता भएपछि प्रदेश सभा बैठकमा मन्त्री गाैतमले बजेटसम्बन्धी अध्यादेश पेस गर्नुभएकाे हाे ।
सरकारले अब प्रतिस्थापन विधेयक ल्याउनुपर्नेछ । असार १४ गते संसदमा टेबल भएको अध्यादेश भदाै १० सम्म पास नगरे अध्यादेश निष्क्रिय हुनेछ ।
काेशी प्रदेश सभा बैठक भदाै ४ गते बस्नेगरी स्थगित भएकाे छ । साे बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत लिनुहुने तय भएकाे छ ।


प्रतिकृया दिनुहोस