लाेकसेवाका कर्मचारी सरकारले सरुवा गर्न नपाउने पक्षमा कांग्रेस सांसद्
काठमाडौं । लोकसेवा आयोगका कर्मचारी सरुवाबढुवा गर्दा आयोगको परामर्श लिनुपर्ने पक्षमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विचार राखेका छन् । बुधबार प्रतिनिधि सभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वडूले सो विचार राखेका हुन् ।’
लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा उनले भने– ‘आयोगको परामर्श र सहमतिबिना कर्मचारी हटाउँदा परीक्षा प्रणाली प्रभावित हुन सक्छ । त्यसको परिणाम सरकारले भोग्नुपर्छ ।’
विधेयकमा अायाेगका कर्मचारी सरकारले सिधै सरुवा गर्न पाउने प्रावधान प्रस्ताव गरिएकाे छ । वैठकमा सरुवा प्रावधानकाे लाेकसेवा अायाेगका अध्यक्ष उमेश मैनालीले विराेध गर्दै अायाेगका कर्मचारी सरकारले सरुवा गर्न पाउने हाे भने लाेकसेवाकाे प्रभावकारीता घट्ने विचार राखेका थिए ।
विधेयकमा भएकाे छलफलमा बाेल्दै वडूले प्रश्नपत्र बनाउने, परीक्षा लिने र उत्तर पुस्तिका जाँच्ने कर्मचारीलाई आयोगसँग नसोधी सरुवा गर्दा आयोगको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्ने बताए ।
कर्मचारी सरुवा वा बढुवा गर्दा आयोगको सल्लाह तथा परामर्श लिनुपर्ने व्यवस्था संविधानमै रहेको उनले जिकिर गरे ।
लाेकसेवा विधेयक ०७६ भदौ २५ मा प्रतिनिधि सभामा पेस भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ०७५ पुस २४ पुसमा सो विधेयक प्रतिनिधि सभामा दर्ता गराएको थियो ।
अहिले विधेयक उपर राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफल भइरहेकाे छ ।


प्रतिकृया दिनुहोस