• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामा विवाद

सनराइज खबर संवाददाता

काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने सबैलाई अन्तर्राष्ट्रिय खेलाडी भन्‍ने वा नभन्‍ने विषयमा विवाद भएकाे छ । प्रतिनिधी सभाको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा यस्ताे विवाद भएकाे हाे । 

साेमबार खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिकाे दफावार छलफल भएको छ ।

साे छलफलमा अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा स्प्ष्ट पार्न संशोधन प्रस्ताव पेश गरिएको छ । संशोधनमा भनिएको छ– ‘ कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्दछ ।’

तर युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले संशोधनकाे प्रस्ताव अनुसार सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिन नसकिने बताए । 

उनल भने – ‘सागमा नेपालको तर्फबाट ६ सय बढी खेलाडी सहभागी थिए, ती सबैलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिने ? त्यो कति उपयुक्त हुन्छ । ’ 

कतिपय अवस्थामा सहभागिताकाे लागि मात्र खेलाडी छनाेट गरिने गरेकाे बताउँदै उनले सबैलाई अन्तराष्ट्रिय खेलाडीकाे मान्यता दिनु उचित नहुने तर्क पेश गरेका छन्  । खेलाडीको स्तर मापन गर्ने आधार पदक भएको भन्दै पदक जित्‍ने खेलाडीलाई मात्र अन्तर्राष्ट्रिय खेलाडीकाे रुपमा परिभाषित गर्नु उपयुक्त हुने धारणा उनले राखे ।

त्यस्तै नेकपा सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने नेपाल ओलम्पिक कमिटीकाे छाताभित्र हुने खेलमा सहभागि खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको परिभाषित गर्नुपर्ने बताए । श्रेष्ठ अहिले ‌नेपाल ओलम्पिक कमिटीका अध्यक्ष छन् ।

सांसद सरिता गिरीले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा प्रदेशस्तरमा हुने खेलहरुको संयोजन हुनेगरी खेलाडीलाई परिभाषित गर्ने स्पष्ट शब्द राख्नुपर्ने बताइन् । त्यस्तै सांसद रंगमति शाहीले विधेयकमाथिको संशोधनको आवश्यकता हेरी छिट्टै  टुंगो लगाउनुपर्ने बताइन् । 

सोमबार बसेको समिति बैठकमा ऐनको नाम राष्ट्रिय खेलकुद विकास ऐन राख्‍ने सहमति भएको छ । समितिको आगामी बैठक पुष ४ बस्‍ने छ । 


 

प्रतिकृया दिनुहोस