काेशी प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासकाे मत लिँदै
काठमाडाैं । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ ।
बिहीबार ८ बजे बस्ने भनिएकाे बैठक आज ११ बजेका लागि सारिएकाे हाे । बिहीबार दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो ।
आधा घण्टामा बैठक बस्न नसकेपछि साँझ ८ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको थियो । तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि प्रदेश सभा सचिवालयले सूचना निकालेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएकाे थियाे ।
आजकाे बैठकमा मुख्यमन्त्री कार्कीले प्रस्तावमाथि उठेका प्रश्नकाे जवाफ दिनुहुनेछ । त्यसपछि प्रदेश सभामा विश्वासकाे मतदान हुनेछ । नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई आफ्नो सरकार जोगाइ राख्न ४७ सांसद्को समर्थन आवश्यक पर्छ । उहाँलाई नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद्को समर्थन छ ।
विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका (सभामुखसहित) १३ र नेकपा एकीकृत समाजवादीका ४ सांसद् गरी ४६ सांसद् छन् ।
जसपा १ सांसद्ले तटस्थ बस्ने बताइसकेका छन् । दुवैतर्फ मत बराबर भएकाे अवस्थामा सभामुखले पनि मत दिन नपाइने व्यवस्था छ । यस्ताेमा विपक्षी गठबन्धनलाई पनि सरकार बनाउन अप्ठेराे छ । एमाले र विपक्षी गठबन्धन दुवैले सरकार बनाउन नसके मध्यावधिमा जाने देखिन्छ ।


प्रतिकृया दिनुहोस