वाग्मतीमा बजेट वितरणमा एकलौटी गरेपछि एमाले र राप्रपाको विरोध, प्रदेश सभा बैठक अवरुद्ध
काठमाडौं । सरकारले बजेट विनियोजनमा एकलौटी गरेपछि वाग्मती प्रदेश सभा बैठक अवरुद्ध भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबारकाे प्रदेश सभा बैठक अवरुद्ध गरेका गरेका हुने । प्रदेश सरकारले ल्याएको बजेट एक पक्षीय भएको उहाँहरूको भनाइ छ ।
प्रदेश सरकारका मन्त्री रहेका जिल्ला र क्षेत्रलाई मात्र प्राथमिकता दिएर बजेट विनियोजन गरेको गरेको उहाँहरूको भनाई छ । बजेटलाई समावेशी ढङ्गबाट वितरण नगरी वडा नै नभएको क्षेत्रमा बजेट विनियोजन गरिएको तथा कतिपय गैरसरकारी संस्थाको नाम नै तोकेर अनुदान वितरण गरिएको भन्दै उहाँहरूले त्यसलाई सच्याउन माग गर्नुभयो ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याए पनि हालसम्म बजेट माथि छलफल भएको थिएन । बजेट ल्याएपछि पहिलो पटक मंगलबार बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आफ्नो भनाइ राखेपछि एमालेका प्रदेश सभा सदस्यले उठेर विरोध जनाउनुभएको थियो ।
प्रदेश सरकारको बजेट मुख्यमन्त्री सालिकराम जम्कट्टेलको जिल्ला धादिङसहित नुवाकोट र सिन्धुपाल्चोकमा केन्द्रित भएको उहाँहरूको भनाइ थियो । कतिपय जिल्लामा हुँदै नभएका वडामा समेत बजेट विनियोजन गरेको भन्दै उहाँहरूले आलोचना गर्नुभयो ।
एमाले र राप्रपाले विरोध गरेपछि सभामुख भुवन पाठकले बैठक स्थगित गर्नुभएको थियो । साँझ ५ः४५ बजे बैठक बोलाइएको भए पनि बैठक बस्ने नबस्ने ठेगान छैन ।


प्रतिकृया दिनुहोस