• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

संसद्‍मा युएनडिपीले बनाइदियाे स्राेत केन्द्र

सनराइज खबर संवाददाता

काठमाडौं । विश्वका थाेरै देशका संसद्ले मात्र विदेशी सहयाेग स्वीकार गर्छ । विदेशी सहयाेग बेहिसाब भित्राउने  विश्वकाे अग्रणी संसद् नेपालकाे हाे । संविधानसभा कालखण्डमा विदेशी सहयाेग अ‌ालेचना र विवादकाे विषय बन्ने गरेकाे थियाे । त्यसबेला युएनडिपीले संविधान सभालाई गरेकाे सहयाेग पनि विवादकाे विषय बनेकाे थियाे । अहिले फेरि संसद्‍मा विदेशी सहयाेग भित्रन थालेकाे छ । 

राष्ट्रिय सभाकाे दिगाे विकास तथा सुशासन समितलाई युएनडिपीले बनाइदिएकाे एक स्राेत केन्द्रको अ‌ाइतबार उद्घाटन गरिएकाे छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केन्द्रकाे उद्‍घाटन गरेका हुन् । 

कार्यक्रममा समितिकी सदस्य प्रमिला कुमारीले सो केन्द्रको महत्व बताइन् । उनले भनिन् – ‘सरकारले थालेको दिगो विकासका योजनाहरु तथा सुशासनकाे विषयमा बहस गर्न सकियोस् भनेर केन्द्रको स्थापना गरिएको हो ।’

केन्द्रमा दिगो विकासका लक्ष्यलाई सहयोग पुर्‍याउने विस्तृत विवरण सहितको ‘ब्रोसर’ तथा ‘इन्फोग्राफिक्स’ का साथै पाक्षिक न्यूजलेटरहरु पनि राखिएका छन् । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले यो केन्द्रले विकासमा ठूलो योगदान पुर्‍याउने विश्वाश व्यक्त गरे । सांसद्हरुको नेतृत्वको चर्चा गर्दै उनले भने–‘लक्ष्यहरु हासिल गर्ने सन्दर्भमा नीति निर्माता र अनुगमनकर्ताको हैसियतले सांसद्हरुले नेतृत्व गर्न जरुरी छ ।’

समितिकी सभापति तारादेवी भट्टले सरकारको सन्तुलित दिगो विकास तथा सुशासन प्रवद्र्धनको योजनामा यो स्रोत केन्द्रले ठूलाे योगदान पुर्‍याउने दाबी गरिन् ।


 

प्रतिकृया दिनुहोस