'खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्छ'
काठमाडौं । सांसदहरुले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले खेलकुद क्षेत्रको विकासका लागि राजनीतिक नियुक्ती बन्द गर्नुपर्ने बताए ।
उनीहरुले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त बनाउन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नहुने बाध्यकारी व्यवस्था गरिनुपर्ने बताएकमा हुन् । खेलकुद क्षेत्रको वृद्धि–विकासका लागि राजनीतिक नियुक्ती बन्द र नियुक्ती पछि पनि सदस्य सचिव राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था गरिनुपर्ने उनीहरुको सुझाव छ ।
बैठकमा विधेयक संसोधनकर्ता दिव्यमणि राजभण्डारीले सदस्य सचिव राजनिति गतिविधिमा संलग्न हुदा खेलकुद क्षेत्रमा राजनीतिक भेदभावको अवस्था श्रृजना हुने भएकाले राजनीतिमा संलग्न हुन नपाउने व्यवस्था गर्नुपर्ने बताए ।
त्यसैगरी सांसद बिमला बिकले खेलाडी कल्याणकोषको स्थापना गरी खेलाडीले खेलबाट विदा लिने अवस्थामा निवृत्तिभरण वा पेन्सन दिने व्यवस्था मिलाउनुपर्ने बताइन् । उनले विधेयकमा खेलाडी प्रवद्र्धन कोष बनाउने विषय थप गर्न सुझाव दिइन् ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलक्षेत्रका समस्या तथा चुनौती सम्बोधन र दायित्वलाई केन्द्र भागमा राखेर विधेयकलाई पुर्णता दिने तर्फ प्राप्त सुझावलाई मन्त्रालयले सधै स्वागत गर्ने बताए ।
राष्ट्रिय सभामा उत्पति भएको ‘खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रियसभाले पारित गरेर सुझाव सहित प्रतिनिधि सभामा पठाएको हो । समितिले शुक्रबार विधेयकमाथि संसोधन दर्ता गराएका सांसदहरुसंग संसोधन प्रस्ताव बारे छलफल गरेको हो ।


प्रतिकृया दिनुहोस