भिडियो कन्फरेन्स मात्रै गरेको, क्याबिनेट बैठक बसेको छैन – मन्त्री बाँस्कोटा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भिडियो कन्फरेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुसंग गरेको भिडियो कन्फरेन्समा ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रिपरिषद्को बैठक नै चाहि नबसेको स्पष्ट पारेका हुन् । उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौमसत्ता माथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टी जनाए ।
उनले भने– 'त्यो कानुन सम्मत छ, किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फरेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौ । एजेण्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो, अभ्यास हो । हामी टेक्नोलोजीमा गर्न सक्छौ भन्ने प्रमाणित भयो भनेका छौ ।'
प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले हेलो हाई भन्नका लागि मात्रै भिडियो कन्फरेन्स गरिएको हो भने कार्यसम्पादन नियमावली किन संसोधन गरियो भनी प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संसोधन गरिएकाले आवश्यक परे भिडियो कन्फरेन्स मार्फत् क्याबिनेट पनि बस्न सक्ने बताए । विदेशमा जहाजबाट नै मन्त्रिपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फरेन्सलाई सूचना चुहियो र गोपनियता भंग भयो भनेर भन्न नमिल्ने उनको तर्क थियो ।
उनले भने– 'बाँदरको मुटुको अपरेसन किन गरियो ? पहिल्यै मान्छेकोमा गरिएन । किनभने मान्छेकोमा पनि आवश्यक परे गर्न सकिन्छ भनेर गरियो । त्यो सफल भएपछि मान्छेकोमा प्रयोग गरियो । त्यसैले भिडियो कन्फरेन्सबाट पनि बैठक गर्न सकिन्छ कि सकिँदैन भनेर प्रयोग गरियो । प्रयोगले सफल देखायो क्याबिनेट होइन । हामी मन्त्रिपरिषद्का सदस्यहरु जम्मा भएर गरेको हो ।'


प्रतिकृया दिनुहोस