टेली मन्त्रिपरिषद् बैठक गरिएकोमा कांग्रेसको आपत्ती
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियाे कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा गम्भिर आपत्ती जनाएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै भिडियाे कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ती जनाएका हुन् । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले उच्च र आधुनिक प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो भएपनि प्रविधिको दुरुपयोग कसैको लागि पनि उपयुक्त नहुने भन्दै भिडियाे कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गरिएकोमा आपत्ती जनाए ।
उनले भने– 'प्रधानमन्त्री काठमाडाैमा उपलब्ध नभएको बेलामा पनि भिडियाे कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्यविधिमा संसोधन गरिएको छ । यो विल्कुलै अनुचित छ । यसबाट सूचना चुहिने र गोपनियता पनि लिक भएर जाने गम्भिरता पनि रहन्छ ।'
प्रधानमन्त्री बाहिर जाँदा कार्यभार सम्हाल्ने गरि कार्यवाहक प्रधानमन्त्री पनि तोकिएको स्मरण गराउँदै उनले भिडियाे कन्फरेन्स हेर्दा प्रधानमन्त्री पनि कार्यरत नै भएको देखिएको भन्दै यस्ता गम्भीर त्रुटी नगर्न सरकारको ध्यानाकर्षण गराए ।
मन्त्रिपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको प्रति पनि कांग्रेसले गम्भिर आपत्ती जनाएको छ । प्रमुख सचेतक खाँडले अधिकार दुरुपयोग गरि मन्त्रिपरिषद् बैठक संञ्चालन कार्यविधि संसोधन गरिएको भन्दै कार्यविधिमा भएको संसोधन अबिलम्ब संसोधन गरेर पुर्ववर्ती अवस्थामा नै लैजान सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
उनले भने – 'यदि सम्मानीय प्रधानमन्त्री नहुदा भिडियो कन्फ्रेन्स मार्फत् क्याबिनेटको बैठक संचालन गर्न मिल्ने हो भने यदि भोली सभामुख हुनुभएन भने यो प्रतिनिधि सभाको पनि बैठक बस्न सक्छ सभामुख ज्यू ?'
सभामुखले बैठक सुरु भएको जानकारी गराए लगत्तै नेपाली कांग्रेसका सांसदहरु यथास्थानमा उभिएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले प्रमुख सचेतक खाँडलाई बोल्नका लागि समय दिएका थिए ।


प्रतिकृया दिनुहोस