सामाजिक सञ्जाल दुरुपयोगमा बाेलिन् शान्ता चौधरी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीले सामाजिक सञ्जालकाे दुरुपयोग बढेको विषय सदनमा कुरा उठाएकी छिन् ।
प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सामाजिक सञ्जालकाे दुरुपयोग बढ्दै जाँदा नेपालीहरुमा मनोवैज्ञानिक असर पर्दै गएको बताएकी छिन् । मानिसलाई उत्तेजित बनाउने तथा अाक्राेश बढाउने शीर्षक राखेर समाचार बनाइन्छ '- उनले भनिन् ।
'सामाजिक सञ्जालकाे दुरुपयाेगका कारण मानिसमा भ्रममा परेका छन् । कैयन मानिस डिप्रेसनमा पुगेका छन् । कैयन अात्महत्याकाे अवस्थामा पुगेका छन्'- शान्ताले भनिन् ।
सलाइकाे काँटी काेरेर फालिदिए अागाे बाल्न सकिन्छ भन्ने साेचाइ कसैकाे हाे भने गलत हाे, नेपाल घर हाे र घरमा लगाइएकाे अागाेबाट काेही बच्न नसक्ने उनले बताइन् ।
सामाजिक संजालको दुरुपयोग गर्नेको संख्या बढ्दै गएको र यसले अराजकता मौलाउँदै गएको भन्दै उनले भनिन्– ‘ स्वतन्त्रता भित्र अराजकता अट्न सक्दैन । लोकतन्त्र भित्र छाडातन्त्र अट्न सक्दैन । नेपाली समाज विकृत बन्दै जाने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।’
सामाजिक सञ्जाल र अनलाइन मिडियाहरुले सर्वसाधारण र उच्च तहका व्यक्तित्वहरुको चरित्र हत्या गरेको आरोप लगाउँदै उनले भनिन् –‘मिडियाहरुमा सर्वसाधारण देखि भीआइपीहरुको चरित्र हत्या गर्दै निराधार आरोप लगाइन्छ । फोटोसपबाट अनेकौं फोटो जोडेर युट्युब च्यानलमा भिडियो बनाएर मिथ्या कुराको व्यापार गरिन्छ ।’
धेरैले फेक अनलाइन चलाइरहेकाे उनले बताइन् । पुष्टि नभएकाे फेक समाचार अनलाइनहरुले बनाएकाे भन्दै उनले प्रश्न गरिन्- 'यस्ता मिडियाले देशलाई कहाँ पुराउँछ ?'
सत्य समाचार सम्प्रेषण गर्ने मिडियालाई सम्मान गर्न अाफू तयार रहेको उनले स्पष्ट पारिन् । मिडियाले कमजोर पक्ष औल्याइरहँदा तथ्यसंगत हुनुपर्ने भन्दै उनले भनिन् ‘सूचनाको हक जनतालाई हुन्छ । हरेक बिषयको जानकारी जनताले पाउन पर्छ । तर झुट सूचना सम्प्रेषण गरेर जनतालाई भ्रममा पार्न पाइँदैन ।’
मिथ्या समाचारले देशलाई गलत दिशातर्फ लाने भन्दै उनले यो विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।
सामामजिक सञ्जालको दुरुपयोग रोक्न, नियमन तथा नियन्त्रण गर्न र दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले यस विषयमा सरकारको ध्यान जानुपर्नेे माग गरेकी छिन् ।


प्रतिकृया दिनुहोस