‘लोकतन्त्र बलियो बनाउन दलहरु मिल्नुपर्छ’
काठमाडौं । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकार्षण गराएका छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकार्षण गराएका हुन् ।
सांसद रमेशजङ्ग रायमाझीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार गर्न सिंगापुर जानुअघि सर्वदलीय बैठक आयोजना गरेकोमा उनले ओलीको प्रशंसा गरे ।
उनले कांग्रेस र नेकपालाई मिलेर अघि बढ्न सुझाव दिए । ‘लोकतन्त्र र गणतन्त्र ल्याउन कांग्रेस र वाम एकजुट भएका थिए । अब लोकतन्त्र र गणतन्त्र बलियो बनाउन पनि दुई पार्टी एक ठाउँमा उभिनुपर्छ’ बाँस्कोटाले भने ।
सांसद रायमाझीले देशमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बताए । उनले नेकपा भित्र दुई शिर्ष नेताहरु बीच भएको संवाद र तिक्तताले सबै राजनैतिक दलका कार्यकर्ताको शीर निहुरीएको पनि बताए । उनले भने – ‘यस्को व्यवहार र संवादको शैलीले राजनैतिक संस्कृति नै बदनाम हुन सक्छ’ ।
समान उद्देश्य भएका दलहरुको कार्यगत एकता हुनुपर्ने भन्दै उनले त्यो नभए मुद्दा केन्द्रित एकता हुनुपर्ने बेला दल भित्रको किचलोले समृद्धिमा बाधा पुग्ने बताए ।
त्यसैगरी सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मी माथि गरेको हातपातका बारेमा सरकारको ध्यानाकर्षण गराए । ‘त्यसतर्फ सरकारको ध्यान गएको छ कि छैन ? । राजतन्त्र फर्काउने सपना कसैले नदेखे हुन्छ ।’ बाँस्कोटाले भने ।
त्यसैगरी उनले पत्रकार रवि लामिछानेका बारेमा सरकारले आफ्नो धारणा राख्नुपर्ने पनि बताए । उनले भने – ‘लोकतन्त्र भिडतन्त्र होइन, न्यायको निसाफ न्यायालयबाट हुन्छ, रविका बारेमा सरकारको धारणा के हो ? स्पष्ट होस्’ ।
त्यस्तै सांसद युटल तामाङले मुगुमा हालैको बाढीले जलविद्युत् आयोजना बगाउदा त्यहा अन्धकार भएको भन्दै तत्काल माग गरे ।
त्यसैगरी उनले चाडपर्वको मुखमा कर्णालीका अधिकांश सडक बन्द भएको भन्दै सडक मर्मतमा ध्यान दिन पनि सरकारको ध्यानाकार्षण गराए । उनले कर्णालीमा नियमित हवाई उडानको प्रबन्ध मिलाउन पनि सरकारको ध्यानाकार्षण गराए ।
सांसद रामप्रित पासवानले प्रदेश २ लाई बाढी÷डुुबानग्रस्त घोषणा गर्न माग गरे । उनले बाढिपीडितलाई दिइएको रकमको हिसाब माग गरे । ‘सरकारले वितरण गरेको भनिएको सात करोड रकम कहाँ कुन जनताले पाए त्यसको हिसाब सार्वजनिक गर्नु पर्याे ।'
सांसद रामलखन चमारले नवलपरासी लगायत तराई÷मधेशका १३ वटा उखु मिलले किसानलाई भुक्तानी नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले तत्काल मलको व्यवस्था गरिदिन आग्रह गरे ।
यसैबीच बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “सेफगार्डस् एण्टी डम्पिङ्ग तथा काउन्ट भेलिङ्ग विधेयक २०७५” टेबल गरेका छन् ।
उनले बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रशासकीय अदालत विधेयक २०७६’ लाई प्रतिनिधिसभाको बैठकबाट सम्बन्धित समितिको प्रतिवेदनमा उल्लेखित संशोधनसहित पारित भएको सन्देशको जानकारी दिए ।


प्रतिकृया दिनुहोस