डाक्टरकै परामर्शमा प्रधानमन्त्रीकाे उपचार सिंगापुरमा : स्वास्थ्यमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डाक्टरहरुको परामर्शकै आधारमा प्रधानमन्त्री उपचारका लागि सिंगापुर जान लागेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा प्रतिनिधि सभा नियमावलीको परिच्छेद ८ बमोजिम प्रश्नोत्तरको कार्यक्रमअन्तर्गत सांसदहरुको मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री यादवले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकै सल्लाहमा सिंगापुरमा उनको उपचार गर्न लागिएको बताए ।
नेपालमा धेरै रोगहरुको उपचार सम्भव भए पनि केही जटिल अवस्थाका रोगका लागि बाहिर जानुपर्ने अवस्था रहेको मन्त्री यादवले बताए । उनले मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री पनि उपचारमा संलग्न चिकित्सककै पराशर्ममा सिंगापुर गएको र फेरि जाने क्रममा रहेको जानकारी गराए ।
‘नेपालमा धेरै रोगहरुको उपचार सम्भव छ । केही टिपिकल कन्डिसनमा बाहिर जानुपर्ने पनि हुन सक्छ’, उनले भने, ‘र, प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारका लागि यहाँका डाक्टरले बाहिर नै रिफर गरिसकेको हुनाले बाहिर नै उपचार गराउँदा उचित हुन्छ । र उहाँ उपचारका लागि जानुभएको थियो र फेरि जाने क्रममा हुनुहुन्छ ।’
सांसद प्रेम सुवालले हालै मात्रै सिंगापुरमा उपचार गराएर आएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि उपचारका लागि सिंगापुर जान लागेको भन्दै नेपालको उपचार पद्धति र प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी माग गरेका थिए ।


प्रतिकृया दिनुहोस