• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

प्रतिनिधि सभामा सांसदहरुको चिन्ता : बाढी, पहिरो, बिग्रेको सडकदेखि भागबण्डासम्म

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभामा सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले बिगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागबण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी लगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत सम्भारका लागि सरकारको ध्यानाकर्षण गराए । सीतापाइला–रामकोट–भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपाटी हुँदै बौद्ध जाने लगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै उनले समयमै मर्मत कार्य गर्नेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए । 

साइकल लेनहरुको अभावका कारण काठमाडौंमा साइकल चढ्ने नागरिकले पनि दुख पाइरहेको भन्दै उनले साइकल लेनको उपयुक्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएकोबारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको भन्दै शक्तिशाली सरकारले सदनको आवाज नसुनेकामा गम्भीर ध्यानाकर्षण गराए । उनले अविरल वर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशीघ्र राहत र पुनःस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।  

सांसद भीमसेनदास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयका पदाधिकारी राजनीतिक नियुक्तिबाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराए ।

राजपाका सांसद् अमृता अग्रहरीले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सडकमा उत्रने चेतावनी दिइन् । गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटकपटक प्रतिबद्धता जाहेर गरेर पनि अहिलेसम्म सार्वजनिक नभएको भन्दै उनले मुलुकमा विद्रोहलाई निम्ता दिने काम नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।

संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले लोकसेवा आयोगले निकालेको विज्ञापन संघीयताको मर्म र भावना विपरीत रहेको भन्दै असमानता कायमै राख्ने हो भने मुलुकमा संघीयता केका लागि आयो ? भनी प्रश्न गरे । उनले आरक्षण बचाउ अभियान अन्तर्गतको  शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेकामा गम्भीर आपत्ति जनाउँदै उनले अधिकारको लडाइँ जारी राख्ने चेतावनी दिए ।

नेकपाका सांसद मोहन बानियाँले मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ३ को भवन र केन्द्रको बारेमा सांसद प्रकाश रसाइली स्नेहीले गलत सूचना दिएको भन्दै आफ्नो भनाइ फिर्ता लिन ध्यानाकर्षण गराए ।
 

 

प्रतिकृया दिनुहोस