सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री असफल : मीनेन्द्र रिजाल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् डाक्टर मीनेन्द्र रिजालले सरकार सञ्चालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारले संसदसँग गरेको कार्यसम्पादन करार पूरा गर्न नसकेको बताए । बजेट कार्यान्वयन सरकारले संसदसँग गरेको कार्यसम्पादन भएको भन्दै उनले त्यो पूरा हुन नसकेकाले प्रधानमन्त्री शासन सञ्चालनको परीक्षामा असफल भएको तर्क गरे ।
‘प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीसँग गरेको कार्यसम्पादन करारका बारेमा त औँला उठाउनुहोला, मन्त्री फेर्नुहोला । तर जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै ?’, उनले भने, ‘हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्री ज्यू । त्यतिमात्रै होइन संसदले गरेको थियो, कार्यसम्पादन करार अघिल्लो वर्ष । बजेट कार्यसम्पादन करार हो, संसद र सरकारको । पूरा गर्न सक्नुभएन प्रधानमन्त्री ज्यू ।’
रिजालले यो सम्झौता पूरा गर्न नसके पनि आउने दिनमा सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गरे ।
एक वर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथिमिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउँदै उनले अहिले भने आधार वर्ष भनेर आर्थिक वृद्धिका बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराए ।
लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दै उनले एकपटकको लडाइँले जीवनभर जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपना नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दै सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताए ।
‘प्रधानमन्त्रीले भन्नुभयो, अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ । ठिक हो प्रधानमन्त्री ज्यू । यस्तो काम देखेपछि त अर्कोपल्ट कांग्रेसबाहेक अरु कसको सरकार बन्छ ?’, उनले भने, ‘यसपल्ट त यही सरकारभन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ सत्ताभित्रै कोही तरंगित नभएको होस् ।’
सांसद रिजालले नियमावली अनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराइएकामा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराए । ‘प्रधानमन्त्रीको सम्बोधन क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुसी भएँ कि प्रश्न सोध्नै बिर्सेंछु । अरु साथीहरुलाई पनि त्यही परेछ’ उनले भने, ‘सभामुखले नियमावलीअनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो । सभामुखले नियमावली मिच्नुहुन्न, मलाई विश्वास छ । म भिडियो रेकर्ड पनि चेक गर्दिनँ ।’


प्रतिकृया दिनुहोस