सांसदहरु भन्छन् : पुडासैनी मृत्यु र रवि गिरफ्तार प्रकरणका पछिल्ला गतिविधि शान्ति सुरक्षाविरुद्ध
काठमाडौं । प्रतिनिनिधि सभामा सांसदहरुले शालिकराम पुडासैनीको रहस्यमय मृत्यु र रवि लामिछाने गिरफ्तार प्रकरणको विषय उठाएका छन् ।
प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महेश्वरजंग गहतराजले पुडासैनीको मृत्यु प्रकरण र रवि लामिछानेको गिरफ्तारीपछिका गतिविधि शान्ति सुरक्षा र सुशासन विरुद्ध रहेको बताए । ‘आफ्नो मान्छे वा आफूलाई मन परेको मान्छे अपराधी हुँदैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशातर्फ लगिरहेको छ, यसमा सरकार गम्भीर बन्नुपर्छ’, गहतराजले भने ।
त्यसैगरी उक्त प्रकरणमा सांसद देवेन्द्रराज कँडेलले प्रहरीको अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने तरिकाले हुलहुज्जत भइरहेको बताए । यस्ता गतिविधिले अपराधलाई संरक्षण गर्ने उनको भनाइ छ । उनले भने, ‘अराजक, गैरकानुनी र हुलहुज्जत गर्ने काम भइरहेको छ । त्यसको म निन्दा गर्छु र भर्त्सना गर्छु ।’
प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले फैसला गर्ने संवैधानिक र कानुनी प्रावधान रहेको भन्दै उनले रविका पक्षमा भएको हुलहुज्जत शान्ति सुरक्षा र सुशासन विरुद्ध भएको बताए । आफूलाई मन परेको मान्छे सुनपानी छर्केर चोखो हुने मानसिकताले अपराधलाई प्रोत्साहन गर्ने उनको तर्क थियो ।
यसैगरी सांसद् यज्ञराज सुनुवारले पनि उक्त प्रकरणमा सत्यतथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराए ।


प्रतिकृया दिनुहोस