प्रतिगामी तत्व आए भन्दैमा सरकार लुगलुग काम्दैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी तत्व आए भन्दैमा सरकार लुगलुग नकाम्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्री लुगलुगी कामिरहेको छ । अब पद जाने भयो भनियो । आगामी निर्वाचन पछि मलाई पनि बस्न मन छैन । निर्वाचन सम्म धैर्य गर्नुस्, पद जसको पनि जान्छ । राजा महाराजाका पनि गएका छन् । तर, प्रतिगामी तत्व सरकारमा आए भन्दैमा सरकार लुगलुग काम्दैन ।’
प्रधानमन्त्री ओलीले जनताका आसा पुरा नगरी सरकार जान्छ भन्ने दिवास्वप्न नदेख्न पनि आग्रह गरे ।
उनले पहिले ठेगान लगाएका शक्तिहरुलाई फर्काउँछु भन्ने बेमौसमी बाजा नबजाउन प्रतिगामी तत्वलाई चेतावनी दिए । उनले भने, ‘चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना गरेर कोही कोही उफ्रिएको छन्’ । यो दाबीमा पत्यार नलागेर सरकार मौन बसेको भन्दै उनले भने, ‘पत्याएका दिन संविधान, गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’
प्रधानमन्त्री ओलीले संविधानसम्मत र दायरताभित्र सरकार चल्ने पनि बताए । ‘सरकारले आलोचनाको स्वागत गर्छ । प्रतिगमनतिर जाने, व्यवस्था उल्ट्याउने कुरा सरकारलाई मान्य हुँदैन’ ओलीले भने ।
उनले यो सरकार जनताको फ्रस्टेसन टेकेर बनेको सरकार नभएको पनि उनले बताए ।
सरकारले केही गरेन भन्ने लाई पनि उनले सुझाए । ‘केही भएन भन्दा पनि ७ प्रतिशतभन्दा बढी आथिर्क वृद्धिदर भयो । आगामी वर्ष ८.५ प्रतिशत वृद्धि हुन्छ । १४ सय किलोमिटर बाटो बन्यो । ३ सय झोलुङ्गे पुल बन्यो ।’ ओलीले भने ।
मेलम्चीको ठेकेदार भागे पनि सरकार नभागेको भन्दै उनले सरकराले त्यसलाई पूरा गर्ने बताए ।
संसद अवरोधरहित रहेको भन्दै संसद्भित्रका शक्तिहरूको सहकार्यले व्यवस्थालाई सुदृढ तुल्याउँने बताए । ‘संसद अवरोधरहित ढंगले क्रियाशील छ । पुराना प्रणालीले गतिविधि गर्न पाउँछन् । तर, उनीहरूले नयाँ व्यवस्थालाई कसरी कमजोर बनाउन सकिन्छ भनेर लागिपरेका छन्’ उनले भने ।
म खुसी छु ।’ प्रधानमन्त्रीले प्रणाली नै फेरिएपछि पुरानो प्रणालीका व्यक्तिहरुले पनि खुलेआम गतिविधि गर्ने बताए । ‘यो नयाँ प्रणाली हो, जुन प्रणाली हामीले निर्माण गरेको संविधानले तय गरेको छ । नयाँ भएकाले पुरानो प्रणालीका संवाहक र पक्षधरहरु पनि यस देशमा छन्’, प्रधानमन्त्रीले भने, ‘लोकतन्त्र दमनकारी प्रणाली नभएकाले पुरानो प्रणालीका पक्षधरले पनि खुलेआम गतिविधि गर्न पाउने नै भए, पाएका छन् ।
नयाँ लोकतान्त्रिक प्रणालीले आफ्नो अभ्यास अगाडि बढाउँदै गर्दा राम्ररी पूर्णता पनि नपाउँदै यसलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर पछि लाग्ने तत्वहरु सक्रिय रहेको भन्दै ओलीले यसबाट सजग रहन जरुरी रहेको बताए ।
संसद्को यसै अधिवेशनमा केही महत्वपूर्ण कानुनहरु निर्माण गरिसक्नुपर्ने भन्दै उनले संसद् अवरोध हुन नहुने बताए । उनले भने, ‘यसै अधिवेशनमा हामीले केही कानुन निर्माण गरिसक्नु छ, अल्झन हुँदैन । कानुनको निर्माण छिटो गतिमा हुनुपर्छ । कानुन निर्माणमा विलम्ब भए कार्यान्वयनमा विलम्ब हुन्छ । जनताले पाउने सुविधामा समस्या पैदा हुन्छ ।’ संविधानले निर्दिष्ट गरेका बाँकी कानुन निर्माण गरिसकेपछि, समायोजन पनि समाप्त गरिसकेपछि अब सरकारको ध्यान सुशासन र विकासमा लगाउने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सरकारको ध्यान सुशासन, आर्थिक उन्नति र विकासमा केन्द्रीत रहेको बताए । समृद्ध नेपाल सुखी नेपाली हुनका लागि भयरहित वातावरण, न्यायको प्रत्याभूति, गरिबीबाट उन्मुक्ति, अशिक्षा र पछौटेपनबाट उन्मुक्ति आवश्यक रहेको प्रधानमन्त्रीले बताए ।
द्वन्द्व व्यवस्थापन गरे पनि द्वन्द्वका घाउ चहराइरहेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई समाधान गर्न सरकार लागि परेको बताए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता तथा छानविन आयोगले यसै साताभित्रि पूर्णता पाउने पनि बताए । ‘द्वन्द्व व्यवस्थापन गरेको यति लामो समय भइसक्दा पनि द्वन्द्वका घाउ चहराउने काम भइरहनु वान्छनीय हुँदैन । त्यसैले यसै हप्ता आयोग गठन भइसक्ने र त्यसले बाँकी रहेका काम पनि समाधान हुनेमा ढुक्क हुन सकिन्छ ।’ ओलीले भने ।


प्रतिकृया दिनुहोस