पाँच न्यायाधीशको आदेश अनुसार आजबाट ऐतिहासिक कलंक सुरु हुँदै
काठमाडौं । सर्वाेच्च अदालतका पाँच जना न्यायाधीशले संविधानलाई कसरी भत्काएका छन् अनि संसदीय प्रणालीलाई कसरी भताभुंग पारेका छन् भन्ने आजबाट देखिने भएको छ । आजबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक आज अपरान्ह चार बजे राखिएको छ ।
आजबाट प्रतिनिधि सभामा व्हीप लाग्ने छैन । व्हीप भनेको दलीय अनुशासन हो । सरकार बनाउने प्रसंगमा व्हीप नलाग्नुको अर्थ हो– दलीय अनुशासन नमाने हुन्छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा सहित पाँचजना न्यायाधीशले सरकार बनाउने प्रसंगमा व्हीप नलाग्ने भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेका थिए । प्रतिनिधि सभामा बहुमत नरहेको अवस्थामा पनि शेरबहादुर देउवा अदालतको आदेशमा प्रधानमन्त्री बनिसक्नुभएको छ ।
आजको बैठकमा प्रतिनिधि सभामा कांग्रेस र माओवादी केन्द्रका सांसद्हरु सत्तापक्षमा बस्नेछन् । नेकपा एमालेले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । तर, एमालेको माधवकुमार नेपाल गुट भने कता बस्छ भन्ने अहिलेसम्म खुलेको छैन । माधव गुटका सांसद्हरुको समर्थनमा देउवा सरकार बनेको हुनाले उनीहरु सत्तापक्षमा बस्नुपर्ने हो । तर, माधव गुटका सांसद्हरुका अनुसार उनीहरु आज प्रतिपक्षी बेञ्चमै बस्नेछन् ।
माधव गुटका सांसद्हरुले देउवालाई विश्वासको मत दिनुपर्छ भनिरहेका छन् । विश्वासको मत दिएपछि मात्र माधव गुटका सांसद्हरु सत्तापक्षमा बस्ने बताइएको छ ।
एउटै राजनीतिक दलका सांसद् कोही सत्ता र कोही विपक्षमा बस्न पाउने घृणित अवस्था आजबाट सुरु हुने अधिवेशनका बैठकहरुमा देखिने भएको छ । यस्तो घृणित अवस्था सिर्जना सर्वाेच्चका पाँचजना न्यायाधीशको आदेशबाट हुन लागेको हो । एउटै पार्टीका सांसद् सत्ता र विक्षमा बाँडिएर बस्ने कलंकपूर्ण अवस्था एमालेमा मात्र हुन्छ कि अन्य पार्टीमा पनि हुन्छ भन्ने चाहिँ अनिश्चित छ ।


प्रतिकृया दिनुहोस