• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारतले सकेकाे दिन नेपाललाई सिक्किम बनाइदिन्छ : प्रदीप गिरि (भिडियोसहित)

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रदीप गिरिले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ बताएका छन् । 

संघीय संसद, प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरिले नेपालको सीमा अतिक्रमण गरेको, दसगजामा सडक निर्माण गर्नुका साथै असमान सन्धि सम्झौता लगायत बारेमा छलफपल भइरहँदा समिति सदस्य गिरिले भारतले आफ्नो क्षमताले भ्याउने हो भने नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिए । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उनले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरू नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गरे । 

उनले बोलेर मात्रै कूटनीतिक समस्या समाधान नहुनेतर्फ सचेत बनी समयमै कूटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराए । नेपालको कमजोर कूटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थलाई समयमै आत्मसात् गरी पहलकदमी गर्न उनले आग्रह गरे ।

‘विपक्षमा रहेर कहिल्यै पनि त्यस्ता मागलाई उठाउनु हुँदैन, जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्’, उनले भने, ‘कूटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कूटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।’

अतिक्रमण रोक्न कूटनीतिक पहल आवश्यक : भीम रावल

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका सांसद् भीम रावलले नेपालको ठूलो भूभाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कूटनीतिक पहल गर्न परराष्ट्र र गृहमन्त्रालयको ध्यानाकर्षण गराए । उनले विशेषज्ञहरूका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भूभाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दसगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भइरहेको दाबी उनले गरे ।

 

त्यसैगरी सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक बहाव रोकिने गरी संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्सेनि ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै उनले सीमा विवाद सुल्झाई अतिक्रमण रोक्नुपर्नेमा जोड दिए ।  

नेपाल भारत सीमा विवाद, अतिक्रमण तथा  डुबान लगायत समस्याबारे छलफलमा समिति सदस्यहरूले तत्काल कूटनीतिक पहल गरी डुबान लगायत समस्याको दीर्घकालिन समाधान खोज्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
 

प्रतिकृया दिनुहोस