खतिवडासहित तीन राजदूतको नाम समितिबाट अनुमोदन
काठमाडाैं । संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
बिहीबार बसेकाे संसदीय सुनुवाइ समितिको बैठकले अमेरिकाका लागि प्रस्तावित राजदूत युवाराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाइपछि अनुमोदन गरेको हो ।
असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले खतिवडा, रेग्मी र विकलाई राजदूतमा सिफारिस गरेकाे थियो । सरकारले राजदूत सिफारिस भएका व्यक्तिको संसदीय सुनुवाइका लागि समितिलाई पत्र पठाएको थियो ।
संसदीय सुनुवाइका क्रममा प्रस्तावित तीनै जना राजदूतले आफ्नो योग्यता, क्षमता र कार्ययोजनाबारे समितिलाई जानकारी गराउनुभएकाे छ । आफूविरुद्ध समितिमा परेका उजुरीका आधारमा सांसद्ले उठाएका प्रश्नको जवाफ पनि उहाँहरूले दिनुभएकाे छ ।
राजदूतमा प्रस्तावित खतिवडा विरूद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेकाे थियाे । उजुरीकर्ता भने संसदीय समितिमा उपस्थित भएनन् । यसअघि कात्तिक १७ काे बैठकमा पनि उजुरीकर्ता नै सम्पर्कमा नआएपछि आजका लागि सुनुवाइ तोकिएको थियाे ।
डा. खतिवडा पूर्व अर्थमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हुनुहुन्छ । रेग्मी भने मुख्यसचिवबाट राजीनामा दिएपछि राजदूतमा सिफारिस हुनुभएकाे हाे । सरकारले सिफारिस गरी पठाएका तीनै जनाकाे नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
गत असोज १५ गते बसेकाे मन्त्रिपरिषद् बैठकले खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।
डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायत देशका लागि गैह्रआवासीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।
सुनुवाइ समितिकाे बैठकले न्यायपरिषद्मा सिफारिस रामप्रसाद श्रेष्ठविरूद उजुरी आह्वान गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरेकाे छ ।


प्रतिकृया दिनुहोस