• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

यो त अति भो– आउनुस्, सिन्दूर लगाउनुस्, नागरिकता लैजानुस्

विक्रम केसी

काठमाडौं । ‘आमा’ को नाममा नागरिकता भन्दै नेपालमाथि डरलाग्दो ब्ल्याकमेलिङ गर्न थालिएको जानकारहरुले बताउन थालेका छन् । 

‘आमा ममतामयी हुन्छिन्, आमाको नाममा नागरिकता दिनुपर्छ भन्दै आमाको आवरणमा ब्ल्याकमेलिङ गर्न थालिएको छ’– बुद्धिजीवी रतन भण्डारी बताउँछन् । 

आमा र महिलालाई अगाडि सारेर नेपालमा नागरिकता प्रावधान खुकुलो बनाउन व्यापक चलखेल हुँदै आएको जानकारहरुको भनाइ छ । 

प्रतिनिधि सभामा नागरिकता सम्बन्धी विधेयक विचाराधीन रहेको छ । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । 

यो विधेयकका प्रावधानहरुलाई सक्दो खुकुलो बनाएर धेरैभन्दा धेरै विदेशीलाई सजिलैसँग नेपाली नागरिकता दिन खोजिएको आरोप लागिरहेको छ । 

नागरिकता विधेयकमा विवादका विभिन्न विषयमध्ये एउटा विषय हो– वैवाहिक नागरिकता । विदेशी महिलाले नेपाली पुरुषबाट सिन्दूर ग्रहण गर्नासाथ सिन्दूरसँगै नागरिकता पनि पाउने प्रावधानले विवाद सिर्जना गरेको हो । 

विधेयकमा विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्नासाथ नागरिकता पाउने गरी व्यवस्था प्रस्ताव गरिएको छ । तर, यो व्यवस्थाको विरुद्धमा कैयन सांसदले संशोधन प्रस्ताव राखेका छन् । 

सांसद दुर्गा पौडेलले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको सात वर्षपछि मात्र नागरिकता प्राप्त गर्न सक्ने संशोधन प्रस्ताव राखेकी छिन् । 

छिमेकी भारतमा पनि भारतीय पुरुषसँग विवाह गरेको सात वर्षपछि मात्र विदेशी महिलाले नागरिकता प्राप्त गर्न सक्छन् ।  

अर्का सांसद प्रेम सुवालले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको १२ वर्षपछि मात्र नागरिकता पाउनुपर्ने भनी संशोधन प्रस्ताव राखेका छन् । 

सरकारले प्रस्ताव गरेको विधेयकमा विवाह गर्नासाथ नागरिकता दिने व्यवस्था छ । नागरिकता पाएपछि विदेशी महिलाले ६ महिनाभित्र माइती देशको नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । माइती देशको नागरिकता त्यागेको प्रमाण पेस नगरेमा नेपाली नागरिकता रद्द हुने व्यवस्था विधेयकमा छ । 

विदेशी महिलाले बिहे गर्नासाथ नागरिता पाउन चाहिँ पाउने तर आफ्नो देशको नागरिकता त्याग्नुपर्ने व्यवस्था विरुद्ध उभिएका छन् सांसदहरु ह्रदयेश त्रिपाठी, अञ्जना विशंखे, डिला संग्रौला पन्त लगायत । 

उनीहरुले विदेशी महिलाले नेपाली नागरिकता लिएपछि माइती देशको नागरिकता त्यागेको प्रमाण ६ महिनाभित्र पेस गर्नुपर्ने विधेयकको प्रावधान हटाउनुर्ने संशोधन प्रस्ताव राखेका हुन् । त्यस्तो प्रावधान हटाएर ‘विदेशी नागरिकता त्यागी सकेकी छु’ भनी विदेशी महिलाले स्वघोषणा गरे पुग्ने व्यवस्था उनीहरुले प्रस्ताव गरेका छन् । 

नागरिकता विधेयकमा विभिन्न विषय विवादमा रहेको छ । विवादास्पद बनेको वैवाहिक नागरिकतामा समितिले अहिलेसम्म सहमति गर्न सकेको छैन । विदेशी महिलालाई सिन्दूर लाउनासाथ नेपालले नागरिकता दिनुपर्छ भनी विभिन्न आइएनजीओ तथा एनजीओहरुले अभियान चर्काउँदै लग्दा संसदीय समिति भने अप्ठेरोमा परेको छ ।  

याे पनि पढाैं-

'आमा' र 'महिला'लाई अगाडि सारेर गरिँदैछ ब्ल्याकमेलिङ

प्रतिकृया दिनुहोस