प्रस्तावित राजदूत खतिवडा र रेग्मीविरुद्ध ४ उजुरी
काठमाडाैं । अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा ४ वटा उजूरी परेका छन् ।
अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडाविरुद्ध ३ र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध १ उजूरी परेका छन् ।
सरकारले असोज १५ गते संयुक्त राज्य अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माकाे नामा राजदूतमा प्रस्ताव गरेकाे थियाे । त्यसपछि संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो ।
समितिको गत असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो वा उजुरी भए १० दिनभित्र समितिसमक्ष उजूरी दिन सर्वसाधारणसँग आह्वान गर्दै सूचना प्रकाशन गरेको थियो ।
उजूरीकर्ताको ठेगाना र सम्पर्क नम्बर नखुलेकाले सार्वजनिक सूचनामार्फत उहाँहरुलाई बोलाउनुपरेकाले त्यसको सूचना मंगलबार प्रकाशन गरिने समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिले प्राप्त उजूरीमाथि छलफल गर्न यही कात्तिक १७ गते समितिको बैठक बाेलाएको छ । योग्यता, क्षमता, अनुभव कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि प्रस्तावित व्यक्ति राजदूतका लागि उपयुक्त हो-होइन भन्ने प्रमाणित गरेर आवश्यक निर्णय लिनेइछ । प्रस्तावित नाम अनुमोदनपछि सरकारको सिफारिशमा राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषद्ले खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
पूर्व मुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो ।
डा. निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायत देशका लागि गैह्रआवासीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।


प्रतिकृया दिनुहोस