संघीय संसद्का पदाधिकारीलाई दिइयाे नयाँ मानचित्र अंकित लोगो
काठमाडाैं । लिम्पियाधुरासहित भूमि समेटिएको नेपालकाे मानचित्र अंकित संघीय संसदको प्रतीक (लोगो) संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गर्नुभएको हो । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले आजैदेखि नयाँ लोगो लगाउनुभएको छ ।
गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आउनुुभएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको मानचित्र अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।
दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्र
ति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिनुभयो । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ मानचित्र अंकित लोगो आजैदेखि उपलब्ध गराइने छ ।


प्रतिकृया दिनुहोस