विहे गर्नासाथ विदेशी महिलालाई नागरिकता देउ- कांग्रेस
काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको आइतबारको बैठकमा कांग्रेस सांसद्हरुले नाविदेशी महिलालाई सात वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिनु व्यवहारिक नभएको बताएका छन् ।
नागरिकता विधेयक उपर समितमा भएकाे छलफलमा बाेल्दै कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिनुपर्ने बताउनुभयो । उहाँले २०६३ साल देखि नै वैवाहिक अंगीकृत नागरिकता दिने सम्बन्धमा सबै पार्टीहरु एक भएर संविधान आएको तर अहिले कसरी ७ वर्ष पछि मात्रै दिने विषय आयो बुझ्न नसकेको बताउनुभयो ।
उहाँले अहिलेको संविधानले अंगीकृत नागरिकलाई चुनावमा सहभागी हुन दिने तर महत्वपूर्ण संवैधानिक अंगहरु र नेतृत्वदायी भूमिकामा सहभागी हुन नदिने व्यवस्था गरेकाले त्यो भन्दा फरक तरिकाले ऐन ल्याउन नहुने स्पस्ट पार्नुभयो ।
उहाँले संविधानले लगाएको बन्देज बाहेक पनि थप बन्देज लगाएर ऐन आउन नहुने तर केही बन्देज थप गर्नुपर्ने भए संविधान संशोधनको विषय बन्ने बताउनुभयो । संविधान विपरित आएका बन्देजहरुले नागरिकको भावनालाई सम्बोधन गर्न नसक्ने समेत बताउनुभयो । यो विषय राष्ट्रियतासँग समेत जोडिएर आएको विषय भएकाले सबै पार्टीहरु बीच सहमति हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहमतिका लागि सरकारले ५ दिनको समय मागेको तर चौथो दिन मै निर्णय गरेर अगाडि बढ्ने विषय ठिक ढंगले नभएको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्तावले संविधानको मूल मर्म माथि प्रहार गरेको बताउनुभयो । समितिको बैठकमा उक्त व्यवस्थाको विरोध गर्दै सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गर्नुभयो । उहाँले संविधानमा पनि समय सीमा निर्धारण नगरिएको विषयमा अहिले बन्देज लगाउनुपर्ने कारण के हो आफूले बुझ्न नसकेको बताउनुभयो ।
तराई मधेसमा अधिकांस व्यक्तिको विवाह भारतमा हुने र यो कुनै पनि नेपालको सरकार र भारतको सरकारले बनाएको सम्बन्ध नभएकाले यस्तो व्यवस्थाले त्यस क्षेत्रको सामाजिक, सांस्कृतिक सम्बन्धमा प्रहार गर्ने बताउनुभयो । उहाँले नागरिकता सरहको आवासीय प्रमाणपत्र दिने भनिएपनि महिलाले बच्चा जन्माएपछि नागरिकता नहुँदा जन्मदर्ता नहुने बताउनुभयो ।


प्रतिकृया दिनुहोस