• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सांसद्हरु भन्छन्– ‘अर्थतन्त्रमा गम्भीर संकट आउनसक्‍छ’

सनराइज खबर संवाददाता

काठमाडौं । सांसद्हरुले कोरोनाका कारण अर्थतन्त्रमा कुनैपनि बेला गम्भीर संकट देखा पर्ने खतरा रहेको बताएका छन् । 

म‌ंगलबार बसेकाे प्रतिनिधि सभाकाे अर्थ समिति बैठकमा सांसद्हरुले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भीर अवस्थामा धकेल्दै लगेको बताए । 

उनीहरुले कुनैपनि समय भारतले आपूर्ति बन्द गरे देशभित्रको आपूर्ति चेन विग्रन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने टिप्पणि गरेका छन् ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँग सम्बन्ध विग्रदै गए देशको अर्थतन्त्रमा गम्भीर असर पर्ने बताउनुभयो । समग्र आपूर्ति चेन नै विग्रन सक्ने खतरा रहेको भन्दै उहाँले देश भित्रै उत्पादन भएको खाद्य वस्तुको आपूर्तिलाई सहजिकरण गर्न समेत सरकार असफल बनेको अ‌ाराेप लगाउनुभयाे ।

सांसद् रामकुमारी झाँक्रीले सरकारले मन्त्रालयहरुको संख्या बढी राखेर खर्च बढाइएको बताउनुभयो । उहाँले खानेपानीका कार्यक्रमहरु सहरी विकास मन्त्रालयको एउटा अंग मात्रै भएको र स्थानीय तहको कार्यक्षेत्र पर्ने भएकाले साे मन्त्रालय काम नलाग्ने बताउनुभयो ।

मन्त्रालयहरुले बजेटमा विरोध हुन नदिन सांसद्हरुको माग अनुसार सानो सानो आयोजनालाई समावेश गरेर बजेट विनियोजन गरिएको उहाँको भनाई छ । 

सांसद् जयकुमार राईले अहिलेसम्म अर्थसमितिले दिएका कुनैपनि निर्देशनहरु सरकारले पालना नगरेको भन्दै थप बलियो बन्दै सरकारलाई निर्देशन दिनुपर्ने बताउनुभयो । अर्थसमितिका छलफलका विषयवस्तुमा विस्तृत छलफल गरी सरकारलाई कार्यान्वयन गर्न दवाव दिनुपर्ने उहाँको भनाई छ ।

सांसद्हरुले सरकारको खर्च उच्च हुने र आम्दानी कम हुने हुँदा अर्थतन्त्रमा दीर्घकालिन असर पर्ने तर्फ अहिले नै ध्यान दिनुपर्ने बताएका छन्। 

सांसद्हरुले अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको मासिक खर्च ४० अर्ब रुपैयाँ र आम्दानी १५ अर्ब रुपैयाँ रहेको बताइसकेकाले यहि अवस्था लामो समय रहे अर्थतन्त्रमा थप चुनौति देखापर्ने बताएका छन् ।  

प्रतिकृया दिनुहोस