• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

केपी ओली र बालेन: तुलना कि भ्रम? सामाजिक सञ्जाल, एल्गोरिदम र निर्माण हुँदै गरेको जनमत

लेख / विचार

लेख / विचार

आज हामी मोबाइल खोल्नेबित्तिकै बारम्बार एउटै दृश्य देख्छौँ—  एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओली र  कामपाका पूर्व मेयर  बालेन्द्र शाह (बालेन) को फोटो, भिडियो र तुलना। कुनै सामग्री समर्थनमा हुन्छ, कुनै विरोधमा, कुनै व्यंग्यात्मक त कुनै भावनात्मक भाषामा प्रस्तुत गरिएको हुन्छ। यस्तो सामग्री यति धेरै दोहोरिएर आउँछ कि कहिलेकाहीँ हामीलाई यही दुई व्यक्ति मात्रै देशको राजनीतिक परिदृश्यमा छन् कि जस्तो भान पर्न थाल्छ। यही दोहोराइले स्वाभाविक रूपमा एउटा गम्भीर प्रश्न जन्माउँछ—के यी दुई नेता वास्तवमै तुलनाका पात्र हुन्? र यदि होइनन् भने, किन उनीहरूलाई निरन्तर तुलना गरिँदैछ?

राजनीतिक पृष्ठभूमि, अनुभव, जिम्मेवारी र कार्यक्षेत्रका आधारमा हेर्दा केपी शर्मा ओली र बालेन्द्र शाह एकै धरातलका नेता होइनन्। केपी शर्मा ओली दशकौँदेखि राष्ट्रिय राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ प्रधानमन्त्री भइसक्नु भएकाे छ , ठूला नीतिगत निर्णयहरूको केन्द्रमा रहनुभएकाे छ  र राज्य सञ्चालनसँग प्रत्यक्ष रूपमा जोडिएको अनुभव केपी शर्मा ओली वेक्नुहुन्छ । अर्कोतर्फ बालेन्द्र शाह अर्थात बालेन  काठमाडौं महानगरपालिकाका पूर्व मेयर हुन्, उहाँले स्थानीय तहमा फरक शैली, टिप्पणी ,अभिव्यक्ति तिमार्फत जनचासाे तान्नुभएकाे छ । उहाँकाे शैली वाेलेर भन्दा पनि समाजिक संजालमा लेखेर जनचासाे तान्ने खालकाे छ ।   दुवैको राजनीतिक यात्रा, दायरा र उत्तरदायित्व फरक–फरक छन्।  देश वनाउने कुरामा त केपी ओली साँग बालेनकाे तुनाल आजकाे दिनमा हुनै सक्दैन ।  त्यसैले उनीहरूलाई एउटै मापनमा राखेर तुलना गर्नु स्वाभाविक देखिँदैन।

तर यति स्पष्ट भिन्नता हुँदाहुँदै पनि सामाजिक सञ्जालमा यस्तो तुलना किन हावी छ भन्ने प्रश्नलाई हल्का रूपमा लिन मिल्दैन। यसको उत्तर व्यक्तिगत लोकप्रियता वा समर्थन–विरोधको भावनामा मात्र सीमित छैन। यो आजको डिजिटल युगको सूचना संरचना र शक्ति सन्तुलनसँग गहिरो रूपमा जोडिएको विषय हो।

सामाजिक सञ्जाल, एल्गोरिदम र निर्माण हुँदै गरेको जनमत

नेपालमा सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल प्लेटफर्महरू—फेसबुक, इन्स्टाग्राम र वाट्सएप—मेटा समूहअन्तर्गत पर्छन्। यी प्लेटफर्महरू नेपाली राज्यको प्रत्यक्ष नियमन र नियन्त्रणभन्दा बाहिर छन्।  नियन्त्रणामा राख्न पनि नेपालमा सम्भव देखिदैन ।  यहाँ देखिने सामग्री कुनै सम्पादकले छनोट गरेको हुँदैन, बरु एल्गोरिदमले तय गर्छ—कुन विषय देखाउने, कति देखाउने र कसलाई देखाउने भन्ने कुरा। यो एल्गोरिदम प्रयोगकर्ताको प्रतिक्रिया, लाइक, कमेन्ट, सेयर र हेर्ने समयका आधारमा चल्छ। विदेशीको डिजाइनमा पनि  एल्गोरिदम    तय हुने गरेकाे पनि भनिन्छ । तर यसको ठोस प्रमाण भने  छैन । तर संभव भने ग्यारेन्टी नै छ । 

सरल शब्दमा भन्नुपर्दा, जुन विषयले बढी प्रतिक्रिया जन्माउँछ, त्यही विषय अझ बढी मानिसको स्क्रिनमा देखिन्छ। यस प्रक्रियामा गहिरो विश्लेषण, नीति र दीर्घकालीन दृष्टिकोणभन्दा भावनात्मक, विवादास्पद र तत्काल प्रतिक्रिया जगाउने सामग्रीले प्राथमिकता पाउँछ। यही कारणले गर्दा केही पात्र निरन्तर चर्चामा रहन्छन् भने अरू पात्रहरू लगभग अदृश्य बन्छन्।

झापा–५ को सन्दर्भ यस अवस्थाको स्पष्ट उदाहरण हो। उक्त निर्वाचन क्षेत्रमा २४ जना उम्मेदवार हुँदा पनि सामाजिक सञ्जालमा मुख्य रूपमा केपी शर्मा ओली र बालेन्द्र शाहको मात्र चर्चा हुनु सामान्य राजनीतिक प्रतिस्पर्धाको संकेत होइन। कांग्रेस, एमाले, रास्वपा, माओवादी, राप्रपा तथा अन्य दलका उम्मेदवारहरूको उपस्थिति हुँदाहुँदै पनि उनीहरूको आवाज सामाजिक सञ्जालमा कमजोर हुनु स्वाभाविक अवस्था होइन। यसले जनमत निर्माणको प्रक्रिया नै एकतर्फी बन्दै गएको देखाउँछ। याे समाजिक संजालकै करण हाे भन्दा फरक पर्दैन । 

यो अवस्था योजनाबद्ध राजनीतिक रणनीति हो कि एल्गोरिदमद्वारा सिर्जित स्वचालित प्रवृत्ति—यो बहसको विषय हुन सक्छ। तर परिणाम भने स्पष्ट छ। नागरिकले सीमित पात्र मात्र देखिरहेका छन्, सीमित कथा मात्र सुनिरहेका छन्, र सीमित विकल्पलाई नै सम्पूर्ण यथार्थ ठान्न थालिरहेका छन्।

सामाजिक सञ्जालले वास्तविकता भन्दा सस्ता लोकप्रियतालाई प्राथमिकता दिने प्रवृत्ति पछिल्लो समय झनै बलियो बन्दै गएको छ। अनुभव, नीति र परिणामभन्दा ‘भाइरल’ छवि, छोटा भिडियो र भ्रमपूर्ण अभिव्यक्तिले ठूलो प्रभाव पारिरहेको छ। छिमेकी देशहरूमा सामाजिक सञ्जालको अत्यधिक प्रभावले राजनीतिक ध्रुवीकरण र अस्थिरता निम्त्याएको उदाहरणहरू पनि हामीले देखिसकेका छौँ। त्यसैले नेपालजस्तो संवेदनशील लोकतान्त्रिक अभ्यासमा रहेको देशमा यसप्रति गम्भीर बहस र सचेतना अत्यन्त आवश्यक छ।

 

आगामी निर्वाचन नजिकिँदै गर्दा यस्तो प्रवृत्ति अझ तीव्र हुने सम्भावना छ। सामाजिक सञ्जालमा कसलाई कति देखाइयो भन्ने आधारमै मतदाताको धारणा बन्ने जोखिम बढ्दै गएको छ। यस्तो अवस्थामा नागरिकको भूमिका झनै महत्वपूर्ण हुन्छ। देखिएको सबै कुरा सत्य हो भन्ने मान्यताबाट बाहिर निस्केर, सूचना कहाँबाट आयो, किन आयो र कसको फाइदाका लागि आयो भन्ने प्रश्न सोध्ने बानी विकास गर्नु आजको आवश्यकता हो।

लोकतन्त्र केवल मतदान गर्ने प्रक्रियामा सीमित हुँदैन। सचेत नागरिक, आलोचनात्मक सोच र सन्तुलित सूचना लोकतन्त्रका आधार स्तम्भ हुन्। यदि हामी सामाजिक सञ्जालले देखाएको दृश्यलाई नै सम्पूर्ण यथार्थ ठान्न थाल्यौँ भने, निर्णय हाम्रो हुनेछ तर दिशा अरूले तय गरिदिनेछन्। त्यसैले आजको आवश्यकता कुनै एक व्यक्तिको पक्ष वा विपक्षमा उभिनु होइन, बरु विवेक, सन्तुलन र सत्यको पक्षमा उभिनु हो।

समग्रमा भन्नु पर्दा आज झापा–५ मा केपी शर्मा ओली र बालेन शाहको तुलना गरिँदैछ, त्यो यथार्थ होइन। केपी शर्मा ओलीसँग कुनै पनि हिसाबले बालेन शाहको राजनीतिक कुरा, परिपक्वता र देश बनाउने कुरामा तुलना हुँदै सक्दैन। केपी शर्मा ओलीले गरेका राम्रा कामलाई लुकाएर गरिएको तुलना भ्रम नै हो। अहिले विदेशी षड्यन्त्रको पछि लागेर छरिएकाे  यस्तो भ्रमले नेपाललाई पनि डुबाउन सक्ने खतरा देखा पर्न थालेकाे छ । 

प्रतिकृया दिनुहोस