भारतमा काेराेनाकाे खबर : सिक्किमपछि अरुणाचलमा पनि विदेशीलाई प्रतिवन्ध
काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतीय राज्य सिक्किमले विदेशीलाई आउन रोक लगाएको छ । लगत्तै भुटानमा एक अमेरिकीलाई कोराना संक्रमण भएको पाइयो । त्यसपछि भुटानले पनि दुई साताका लागि विदेशी पर्यटकलाई रोक लगायो ।
अहिले भुटानसँग सीमा जोडिएको भारतीय राज्य अरुणाचलले विदेशीलाई आउन रोक लगाएको छ ।
नेपाल, भुटान, सिक्किम र अरुणाचल एउटै हिमालय भूक्षेत्रमा पर्छन् । विश्वव्यापी फैलिएको कोरोना संक्रमणलाई ध्यानमा राखेर सीमा बन्द गर्दै विदेशी आवागमनमा रोक लगाइएको अरुणाचल प्रदेश सरकारले जनाएको छ ।
उता भारतकै उत्तराखण्ड राज्यले वायोमेट्रिक प्रणालीबाट कार्यालयमा हाजिर गर्ने प्रविधि प्रयोगमा रोक लगाएको छ । यो प्रविधिमा डिभाइसमा औंला राखेर हाजिर गरिन्छ ।
भारतको केरलामा आठजना, लद्दाखमा दुईजना, तमिलनाडुमा एकजना, दिल्लीमा तीनजना, अगरामा एकजना, गाजियावादमा एकजना र तेलंगानामा एकजनालाई संक्रमण देखिएको छ । राजस्थानमा भने १७ जनालाई संक्रमण देखिएको छ । १७ मध्ये १६ जना इटालीबाट घुम्न आएका पर्यटक हुन् ।
तमिलनाडुमा एकहजार भन्दा धेरै मानिसलाई घरमै निगरानीमा राखिएको छ । उनीहरुको स्वास्थ्यको अनुगमन तमिलनाडु सरकारले गरिरहेको छ । कोरोना संक्रमितको सम्पर्कमा आएको हुनाले उनीहरुलाई पनि संक्रमण भएको आशंकामा निगरानीमा राखिएको बताइएको छ ।


प्रतिकृया दिनुहोस