• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

टेलिकममा गडबडी, सञ्चार मन्त्रालय र अख्तियारको चासो

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

 

काठमाडौं । नेपाल टेलिकमको मास्टर सीमहरु अवरुद्ध गरिएको विषयलाई सञ्चार मन्त्रालयले गम्भीर रुपमा लिएको छ । दशैंको मुखमा टेलिकमको मास्टर सीमहरु अवरुद्ध गरिएको थियो । 

दशैंको मुखमा मास्टर सीमहरु अवरुद्ध गरिएपछि टेलिकमको व्यापारलाई दीर्घकालीन प्रभाव परेको थियो । टेलिकमले विक्री गरेको सीम कार्ड एक्टिभेट गर्ने काम मास्टर सीम मार्फत् गरिन्छ । मास्टर सीम टेलिकमले सीम कार्ड विक्रेताहरुलाई उपलब्ध गराएको हुन्छ । मास्टर सीम अवरोध गर्नुका साथै टेलिकमको व्यापार गिराउने काम टेलिकमकै डिष्ट्रिव्युटरहरुले गरेको आरोप लागेको थियो । तर, आफूहरुले टेलिकमको व्यापार गिराउने काम पनि नगरेको र मास्टर सीममा अवरोध पनि नगरेको दावी डिष्ट्रिव्युटरहरुले गरेका छन् । सनराइज खबरको सम्पर्कमा आएका एक डिष्ट्रिव्युटरले भने– ‘मास्टर सीम अवरोध गर्न हामीले सक्दैनौं, टेलिकमले नै अवरोध गरेको हो ।’

डिष्ट्रिव्युटरहरुले टेलिकमको व्यापार सुधार गर्न र आफ्नो व्यापार सहजीकरणका लागि हालै पाँच बुँदे माग टेलिकम व्यवस्थापन समक्ष पेस गरेको पनि उनले जानकारी दिए । 

तर, सञ्चार मन्त्री जगदिश खरेलको टिमले भने व्यापारीहरुलाई दोष नदिएको बुझिन्छ । आफू सञ्चार मन्त्री हुनासाथ टेलिकमको व्यापारमा समस्या आएपछि मन्त्री खरेल चिन्तित भएको बुझिन्छ । सञ्चार मन्त्री निकट एक अधिकारीले भने– ‘टेलिकमका अहिलेका कैयन अधिकारीहरु विरुद्ध अख्तियारमा छानविन भइरहेको छ, केही अधिकारी निलम्वित छन् । उनीहरुले अख्तियारमा लागेको उजुरी र मुद्दा मिलाउन विचौलियाहरुको कुरा सुन्नैपर्ने वाध्यता छ, यो कारण पनि टेलिकमको व्यापार खस्किएको हाम्रो बुझाई छ ।’

अख्तियारले टेलिकमलाई निरन्तर निगरानीमा राखेको बुझिन्छ । केही समय पहिले टेलिकमका १८ जना विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अहिले उच्च तहमा कार्यरत सविना मास्केका पति प्रवन्धक अमोल प्रधानलाई पनि मुद्दा लागेको छ । टेलिकमका उच्च पदस्थहरु विरुद्ध लागेको मुद्दा र उजुरी मिलाइदिने भन्दै टेलिकमकै दुईजना कर्मचारीहरु लागिपरेको भन्दै अख्तियारमा खबर पुगेको छ । अख्तियार र प्रमुख आयुक्त प्रेम कुमार राईले मैले जे भन्छन् त्यही मान्छन् भनेर टेलिकमका केही कर्मचारीले भन्ने गरेको उजुरी अख्तियारमा पुगेको छ । एक कर्मचारीका अनुसार केही कर्मचारीले प्रेमकुमार राई र अख्तियारमा आफ्नो चल्ने भनी गरेको अडियो रेकर्ड अख्तियारलाई उपलब्ध गराउने भएका छन् । टेलिकमका केही कर्मचारीले प्रमुख आयुक्त राई तथा अख्तियारमा आफूले भनेको चल्ने भन्दै टेलिकमभित्र दादागिरी गरेको सम्बन्धमा अख्तियारले सञ्चार मन्त्रालयसँग सोधपुछ गरेको सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले बताए । ती अधिकारीका अनुसार टेलिकमका दुईजनाको नाम किटानी गरेर अहिले अख्तियारले विषयमा छानविन गरिरहेको छ ।

नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्ष सञ्चार सचिव हुने व्यवस्था छ । अहिले सचिव राधिका अर्याल हुनुहुन्छ, यसकारण टेलिकम सञ्चालक समितिको अध्यक्ष राधिका हो । ती वर्ष अघि टेलिकमले शेयर धनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो । सो निर्णयका कारण आर्थिक अपचलन भएको आशंकामा अख्तियारले बल्ल छानविन थालेको बुझिन्छ । टेलिकमको व्यापार र अवस्था सुधार गर्न प्रधानमन्त्री सुशिला कार्कीले राधिका अर्याललाई कडाई साथ लाग्न निर्देशन दिनुभएको बुझिन्छ । यो कारण पनि राधिका अर्याल तथा सञ्चार मन्त्रालयले टेलिकममा चासो बढाएको स्रोतको दावी छ । अख्तियार प्रमुख प्रेमकुमार राईको सचिवालयले प्रमुखको नाम लिएर टेलकममा चलखेलको प्रयास भइरहेको भन्दै गुनासो राखेको र आवश्यक कदम चाल्न भनेको पनि जानकारी प्राप्त भएको छ ।

टेलिकमका केही टेण्डरहरुमा पनि अख्तियार प्रमुख राईको नाम लिएर चलखेल हुने गरेको बुझिन्छ । यो तर्फ पनि सम्बन्धितहरुको ध्यान गएको बताइएको छ । त्यसैले अहिले टेलिकमले ठूला खालका कुनै पनि टेण्डर र खरीदको काम सञ्चार मन्त्रालय र अख्तियारको निर्देशनमा रोकिएको छ । खरीदको काम रोकिएको टेलिकमको विक्रीको काम पनि रोकिएपछि यो संस्था संकटमा पर्ने देखिएको छ । टेलिकमको आम्दानीको स्रोत सीमकार्ड विक्री, रिचार्ज कार्ड विक्री र इन्टरेट लाइन विक्री हो । यी तीनवटै व्यापारमा समस्या आएपछि टेलिकम थप समस्यामा पर्ने देखिएको छ । यसै बीच प्राप्त जानकारी अनुसार टेलिकमका डिष्ट्रिव्युटरहरुले आन्दोलन गर्न लागेका छन् । उनीहरुले एनसेललाई सघाउ पुराउन आन्दोलन गर्न खोजेका हुन् कि मर्का परेरै आन्दोलन गर्न लागेका हुन् भन्ने स्पष्ट भएको छैन । 

तर, डिष्ट्रिव्युटरहरुले आन्दोलन गर्दा एनसेललाई फाइदा पुग्ने प्रष्ट छ ।
 

प्रतिकृया दिनुहोस