राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ
रामेछाप । वाग्मती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताउनु भएकाे छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जेनजीको नाममा भदौ २३ र २४ गते भएका अपराधको घटनामा संलग्नलाई छाड्न नहुने बताउनुभयाे । ‘जसले जे अपराध गरे पनि जेनजी भन्ने बित्तिकै छाड्ने हो भने समाज कहाँ पुग्छ ? देश के होला ?’ उहाँले प्रश्न गर्नुभयाे ।
श्रेष्ठले राज्य सत्ता सञ्चालन गर्ने विषय ख्यालख्यालको विषय नभएको बताउनुभयाे । सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सकारलाई अपराधीलाई उन्मुक्ति दिने हिसाबले ख्यालख्याल नगर्न आग्रह गर्नुभयाे । ‘राज्य सत्ता सञ्चालन गर्ने कुरा कुनै क्लब सञ्चालन गरे जस्तो होइन ।’ उहाँले भन्रुभयाे ।
भदौ २३ र २४ को घटनालाई एउटै डालोमा हालेर हेर्न नमिल्ने उहाँले बताउनुभयाे । मेटा कम्पनीको सामाजिक सञ्जाललाई कर तिर, कानुनको दायरामा आऊ भन्दा उसको समेत लगानीमा जेनजीका नाममा नेपालमा विध्वंस मच्चाइएको उहाँले बताउनुभयाे । ‘साम्राज्यवादीको जेनजीलाई प्रयोग गरेर नेपाल ध्वस्त बनाउने योजना अनुसार भदौ २३ र २४ को घटना भयो, राज्यका संरचनासँगै नेपाली लगानीका उद्योग व्यवसायलाई ध्वस्त बनाउने काम भयो ।’ उहाँले भन्रुभयाे ।
आन्दोलनको बेला नेपाली सेना लगायतका सुरक्षा संयन्त्रको भूमिका समेत निष्क्रिय रहेको बताउँदै श्रेष्ठले त्यसको पनि छानबिन हुनु पर्ने बताउनुभयाे । सो घटनाको निष्पक्ष छानबिन गरी कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने वातावरण बनाउनु पर्नेमा उहाँले जोड दिनुभयाे ।
उद्योगी व्यवसायीको क्षेत्रमा आएका समस्या समाधानको लागि प्रयास गर्न पनि उहाँले नेपाल उद्योग तथा व्यवसायी महासंघलाई आग्रह गर्नुभयाे । महासंघले गरेको कामले अरूलाई पनि प्रभाव पार्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयाे ।
अहिलेको असहज परिस्थिति धेरै समय नरहने बताउँदै उहाँले अहिले जुन हिसाबले गलत व्याख्या गरिएको छ त्यस्तो स्थिति नभएको बताउनुभयाे । संगठनको पुनर्गठन भनेको व्यक्ति भन्दा पनि संरचना र काम गर्ने शैलीको पुनर्गठन भएको उहाँले प्रष्ट पार्नुभयाे ।


प्रतिकृया दिनुहोस