• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

शेख हसिनामाथि मानवताविरुद्धको अपराध मुद्दा : बङ्गलादेश अदालतको फैसला नोभेम्बर १३ मा

समाचार

समाचार


ढाका ।  बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले पूर्व प्रधानमन्त्री शेख हसिनामाथि दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको कानूनी कार्यवाही पूरा गरी आगामी नोभेम्बर १३ मा फैसला सुनाउने भएको ढाका ट्रिब्युनले जनाएको छ ।

    पूर्व प्रधानमन्त्री तथा अवामी लिग नेत्री शेख हसिनामाथि उहाँको शासनकालमा धेरै व्यक्तिलाई यातना दिएको र बलपूर्वक बेपत्ता पारेको आरोप लगाइएको छ । सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनपछि हसिनाको सत्ता पतन भएको थियो । त्यसपछि उहाँ देश छाडेर भाग्न बाध्य हुनुभएको थियो । हाल बङ्गलादेशमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको छ ।

    राज्यद्वारा नियुक्त हसिनाका कानूनी सल्लाहकार मोहम्मद अमिर हुसेनका अनुसार सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका क्रममा हसिनामाथि लगाइएका मानवता विरुद्धका अभियोगहरू राजनीतिक रूपमा प्रेरित छन् । उहाँले अदालतमा बहस गर्दै हसिनाले देश छोड्न नचाहेको तर परिस्थितिले बाध्य बनाएको बताउनुभएको थियो । “शेख हसिनाले स्वयं भनिरहनु भएको थियो — ‘म यो देश छोड्दिन, आवश्यक परे पनि म यहीँ मर्नेछु ।’ तर अन्ततः अवस्था यति गम्भीर भयो कि उहाँ हेलिकप्टरमार्फत बाहिरिनु पर्‍यो”, उहाँले ढाका ट्रिब्युनलाई उद्धृत गर्दै भन्नुभएको छ ।

    अमिर हुसेनले अदालतमा दाबी गर्दै भन्नुभयो, “मेरा अभियुक्तमाथि एउटा पुस्ता नष्ट गर्ने षड्यन्त्रको आरोप लगाइएको छ, तर यो हिटलरले यहुदीहरूमाथि गरेको नरसंहारजस्तो मानवता विरुद्धको अपराध होइन । यो मुद्दामा त्यस्तो उद्देश्य र प्रमाण दुवै छैन । न्यायाधीशहरूले निष्पक्षरूपमा निर्णय गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।”

    यसअघि अक्टोबर ८ मा आइसिटीले अवामी लिग शासनकालमा जबरजस्ती बेपत्ता पारिएका व्यक्तिहरूको मामिलामा शेख हसिनासहित ३० जना विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो । अदालतले उहाँहरूलाई अक्टोबर २२ भित्र पेश गर्न आदेश दिएको थियो । उक्त तीन सदस्यीय न्यायिक बेञ्चको नेतृत्व न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारले गर्नुभएको हो ।

    गिरफ्तारी वारेन्टमा पूर्व गृहमन्त्री असदुज्जमान खान, हसिनाका रक्षा सल्लाहकार तथा सेवानिवृत्त मेजर जनरल तारिक अहमद सिद्दीकी र पूर्व प्रहरी प्रमुख बेन्जिर अहमद पनि समावेश हुनुहुन्छ । बाँकी २७ जना प्रतिवादी मध्ये अधिकांश सेना अधिकारी रहेका छन् ।

    दुई छुट्टाछुट्टै मुद्दामा हसिनासहित अन्य अभियुक्तमाथि विपक्षी कार्यकर्ताहरूलाई अपहरण गरी ¥यापिड एक्सन बटालियन (आरएबी) र बल गुप्तचर महानिदेशालय (डिजिएफआई) अन्तर्गतका गोप्य सोधपुछ केन्द्रहरूमा यातना दिएको आरोप लगाइएको छ ।

    यी मुद्दाहरूमा मानवता विरुद्धका पाँचवटा आरोप समेत समावेश छन्, जसमा पाँचजना पूर्व डिजिएफआई महानिर्देशकको नाम पनि रहेको छ ।

    गत अक्टोबर २२ मा आइसिटीले हसिनाको शासनकालमा जबरजस्ती बेपत्ता पारिएका घटनामा संलग्न १५ जना सेवारत सेना अधिकारीलाई कारागार पठाउने आदेश दिएको थियो ।
–रासस

प्रतिकृया दिनुहोस