• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

  नेपालमा गृहयुद्धको खतरा, यस्तो छ हतियारको कथा

विक्रम केसी

विक्रम केसी

-विक्रम के.सी

 नेपालमा एकातिर गृहयुद्धको खतरा देखिएको छ भने अर्कातिर विदेशी सेना भित्रने जोखिम बढेको छ ।


जेन्जी आन्दोलनपछि नेपालमा विभिन्न खाले हतियारधारी समूहहरु जन्मने र ठूलो हिँसा हुने खतरा बढेको छ । सशस्त्र समूहहरु जन्माउन सरकारमा बसेकाहरु नै लागिपरेको कैयन संकेत मिलेको छ । 

भदौ २३ र २४ गते सरक्षा निकायहरुका करिब १३ सय भन्दा धेरै बन्दूक लुटिएको छ । माओवादीले जनयुद्धका बेला यति हतियार लुट्न वर्षाैं लागेको थियो । २३ र २४ गते एक लाख हाराहारीमा गोली लुटिएको छ । जेन्जी आन्दोलनको २४ गतेका दिन विभिन्न ठाउँमा बन्दूक बोकेका कथित आन्दोलनकारीहरु देखिए । आन्दोलनमा तिब्बती पृथकतावादीहरुको पनि सक्रियता र संलग्नता भएको प्रष्ट हुँदै गएको छ ।

यद्यपी नेपाली सेनाले ९७८ हतियार मात्र लुटिएको जानकारी दिएको छ ।

जेलबाट हजारौं कैदीवन्दी भागेका छन् । उनीहरुमध्ये कैयन पुन अपराधमा संलग्न भएको पाइएको छ । नागरिक असन्तुष्टि झन् बढेको छ, मुलुकमा राजनीतिक कमाण्ड दह्रोसँग स्थापित भएको छैन, राजनीतिक शून्यताको अवस्था छ । जेन्जीका नाममा सरकार संरक्षित गुण्डा दलहरुले ठगी, लुटपाट र आतंक मच्चाइरहेका छन् । 


नेपालको यस्तो अवस्था देखेर काठमाडौंमा रहेका विभिन्न कूटनीतिक नियोगहरुले नेपालमा सरकारी संरक्षणमै सशस्त्र समूहहरु उदाउने खतरा औंल्याउँदै आफ्ना नागरिकहरुलाई सचेत गराइरहेका छन् । 

आगामी दिनमा नेपालमा सशस्त्र समूहहरु सरकारले नै जन्माउन सक्ने खतरा बिना आधार औंल्याइएको होइन । जेन्जी आन्दोलनको आवरणमा सुरक्षा निकायहरुको हतियार ठूलो संख्यामा लुटियो, त्यस्ता हतियार खोज्न गृहमन्त्रीले नै रोक लगाए, हतियार सहित पक्राउ परेकाहरुलाई कारवाही नगरी छाडियो । यस्ता कारणले नेपालमा चाँडै सशस्त्र समूहहरु जन्मने र त्यस्ता समूहको आक्रमणले देश तहसनहस हुने चिन्ता बढेको हो । 

प्रचण्ड नेतृत्वको माओवादीले ०५२ फागुन १ गतेबाट जनयुद्ध थाल्यो । माओवादीले ससाना प्रहरी चौकीलाई निशाना बनाउन थाले । त्यस्ता चौकीबाट हतियार लुट्न थाले । माओवादीले ठूलाठूला चौकी र जिल्ला प्रहरी कार्यालय समेत आक्रमण गर्न थाले । प्रहरीबाट लुटेको हतियारले नै शक्ति आर्जन गरेको भनेर माओवादीले प्रचार गर्यो । सत्य त्यो थिएन । प्रहरीबाट हतियार लुटेको भरमा त्यति व्यापक र ठूलो युद्ध गर्न सकिँदैनथ्यो । माओवादीलाई विदेशी सहयोग स्पष्ट रुपमा थियो । विदेशबाट हतियार र तालिम पाएको कुरा पछि माओवादी नेताहरुले नै स्वीकारे ।

देशभित्र हतियार लुटेजस्तो गर्ने, त्यही हतियारका भरमा लडाकू तयार पारेको देखाउने, त्यसपछि विदेशी हतियारको सहयोगमा देशभित्र वितण्डा मच्चाउने माओवादीको ट्याक्टिस फेरि पनि प्रयोग हुने शंका बढेको हो । सामान्यतया जेन्जी युवाहरुले सुरक्षा निकायका हतियार लुट्दैनन् । उत्तेजनाका भरमा लुट्नेहरुले पनि पछि फिर्ता गरिसकेका छन् । तर,  लुटिएका हजारौं गोली र बन्दूकहरुहरु अहिलेसम्म भेटिएको छैन । जेन्जी आन्दोलनमा पवित्र भावनासाथ लागेका युवाले सुरक्षाकर्मीका हतियार लुकाएर राख्नुको अर्थ हुँदैन । कुनै खतरनाक उद्देश्य बोकेको समूह र त्यस्तो समूहका सदस्यले मात्र हतियार लुकाएर राख्न सक्छन् । 

सुरक्षा निकायका जानकारहरु भन्छन्, बन्दूक र गोली डरलाग्दो चिज हो, सामान्य युवा तथा किशोरहरुले बन्दूक र गोली लुटेर लगेका हुन् भनेर पत्याउन सकिन्न, कुनै ठूलो गिरोहका तालिम प्राप्त सदस्य या पेसेवर अपराधीले मात्र बन्दू लैजान सक्छ ।

लुटिएका हतियार अहिले कहाँ छ ? ठूलो प्रश्न उठेको छ । 

सिंहदरबार सहित देशका प्रमुख र संवेदनशील निकायमा सुनियोजित र संगठित रुपमा आगजनी गरिएको प्रष्ट भइसकेको छ । नेपाल जलाएर ध्वस्त पार्न चाहने त्यस्तो समूहको हातमा नै सुरक्षा निकायको हतियार पुगेको शंका गरिएको छ । यस्तो शंकामा बलियो आधार पनि छ । किनभने २३ र २४ गतेको आन्दोलनमा जेन्जी पुस्तालाई अगाडि सारेर पछाडिबाट संगठित शक्तिले वितण्डा मच्चाएको प्रष्ट भइसकेको छ । 

जुन शक्तिले २३  र २४ गते त्यति ठूलो वितण्डा मच्चायो, त्यो शक्तिले हतियार लुटेन होला त ? प्रश्न उठेको छ । त्यसरी वितण्डा मच्चाउने शक्तिले नै सुशीला कार्कीलाई प्रधानमन्त्री र ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएको तथ्य खुलस्त भइसकेको छ । गृहमन्त्री ओमप्रकाशले तोडफोड र आगजनीको छानविन नगर्ने, उनीहरुलाई पक्राउ नगर्ने, पक्राउ परेकाहरुलाई पनि छाड्ने आदेश दिएपछि स्थिति रहस्यमय भएको छ । 

गृहमन्त्रीले लुटिएको हतियार सहित पक्राउ पर्नेहरुलाई पनि कारवाही नगर्न आदेश दिएको सार्वजनिक भइसकेको छ । कैलालीमा दुईटा पेस्तोल सहित चारजना पक्राउ परे । उनीहरुको कनेक्सन शंकास्पद देखियो । प्रहरीले थप अनुसन्धानका लागि चारैजनालाई रातारात विमानबाट काठमाडौं ल्यायो । उनीहरुबाट हतियार लुट्ने गिरोहका बारेमा उनीहरुबाट धेरै कुरा खुल्ने प्रहरीको अपेक्षा थियो । तर, काठमाडौंका मेयर वालेन शाकको ईच्छा र गृहमन्त्री ओमप्रकाश अर्यालले कडा दवाब दिएर उनीहरुलाई रिहा गर्न लगाउनुभयो । कतिसम्म भने, उनीहरुको वयान समेत नष्ट गर्न लगाइएको छ । 


गिरोहको पहिचान हुने अवस्थामा गृहमन्त्रीले नै छानविन रोकेर उनीहरुलाई रिहा गर्न लगाएको किन ? हतियार लुट्ने गिरोहको पहिचान होला कि भन्ने चिन्ता गृहमन्त्रीलाई किन ? यस्ता प्रश्नको जवाफ गृहमन्त्रीबाट आउने लक्षण छैन । मनोबल गिरेको प्रहरीको मनोबल अझ गिराउन गृहमन्त्री आफैं लागिपरेको देखिएको छ । नयाँ सशस्त्र समूह जन्माउने र त्यस्तो समूह मार्फत शासन सत्ता हातमा लिने ओमप्रकाश र वालेनहरुको दाउ त होइन ? प्रश्न उठेको छ ।  

हतियार सहित पक्राउ परेकाहरुलाई छुटाउन काठमाडौं महानगरका मेयर वालेन शाहको टिमले दवाब दिने गरेको छ । वालेनका कार्यकर्ता सुदन गुरुङ लगायतले प्रहरीलाई धम्काउँदै हतियार लुटेराहरुलाई छुटाएको बुझिन्छ । वालेनको समूहले खासखास अभियुक्तलाई छुटाउन दवाब दिने गरेको छ तर लहलहैमा लागेर वितण्डमा लागेका इन्नोसेन्टहरुलाई भने वास्तै गरेको छैन । लहलहैमा परेका युवाहरु फसेकोमा वास्ता नगरेर आफ्नो गिरोहका मानिसहरुलाई मात्र छुटाउन वालेन र सुदनको समूह किन लागिरहेको छ ? प्रश्न उठिरहेको छ । वालेन सुदन समूहको संगठित समूहका वितण्डाकारीहरु अहिले कोही पनि प्रहरी नियन्त्रणमा छैनन्, लहलहैमा लागेर लुटपाट गर्नेहरु मात्र प्रहरी नियन्त्रणमा परेका छन् । 

प्रहरीले लुटपाट र आगजनी गर्नेलाई पक्रन लगभग बन्द गरिसकेको छ । संगठित गिरोहका सदस्य हो भने नपक्रने प्रहरीको नीति जस्तै भएको बुझिन्छ । एक प्रहरी अधिकृतका अनुसार हतियार, लुटपाट र आगजनीमा संगठित समूहहरु नै लागेको प्रष्ट भइसकेको छ, उनीहरुलाई पक्राउ गर्दा छाड्ने आदेश आउँछ, त्यसैले ट्यापे, गजडी र उरन्ठ्याउला ठिटा पक्रेर प्रहरीले काम देखाउनुपरेको छ । 

यस्तो अवस्थामा लुटिएका हतियारहरु कहाँ छन् भन्ने प्रश्न ज्वलन्त बनेको छ । २४ गतेको आगजनीको षडयन्त्र गर्नका लागि महिनौं तयारी गरिएको तथ्य सार्वजनिक भइसकेको छ । त्यति ठूलो षडयन्त्र गर्ने गिरोहले हतियार हात पारेपछि झन् कस्तो षडयन्त्र गर्ला ? यो प्रश्नले सुरक्षा निकायहरु चिन्तित छन् तर सरकारको नेतृत्व गर्नेहरु, खासगरी गृहमन्त्री ओमप्रकाश अर्याल पटक्कै चिन्तित नदेखिनु अनौठो भएको छ । देशका सामु यति ठूलो खतरा देखा पर्दा गृहमन्त्रीले अपराधी नपक्रनु, हतियार नखोज्नु भनेर सुरक्षा निकायहरुलाई दवाब दिनुले अनेक आशंका जन्मिएको छ ।
 

प्रतिकृया दिनुहोस