• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

प्रधानमन्त्री ओली गम्भीर परामर्शमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । मुलुकमा सुनियोजित रुपमा जटिल परिस्थिति सिर्जना गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर परामर्शमा लाग्नुभएको छ । प्रधानमन्त्री निवास स्रोत अनुसार प्रधानमन्त्री ओली गए राति ३ बजे मात्र सुत्नुभएको थियो भने बिहान ७ बजेदेखि नै परामर्शमा लाग्नुभएको छ । 

सोमबार भएको प्रहरी दमनमा प्रधानमन्त्री ओली आश्चर्यचकित भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीले निवासमा राति निकटहरुसँग यति ठूलो क्षति कसरी भयो ? प्रहरीले किन न्यून क्षतिमा परिस्थितिलाई नियन्त्रण गर्न सकेन ? यस्ता प्रश्नहरु गरेको बुझिन्छ । 

आन्दोलनमा घुसपैठभएजस्तै प्रहरीमा पनि घुसपैठ भएको, प्रहरीलाई जानाजान गलत काम गर्न लगाइएको आशंका प्रधानमन्त्रीको भएको बुझिन्छ । 

परिस्थिति गम्भीर बन्ने क्रममा कांग्रेसको शेखर पक्षले सरकार छाड्ने भनेको छ । डा. शेखर कोइराला अहिले चीनमा हुनुहुन्छ, चीनबाटै उहाँले आफ्नो पक्षका मन्त्रीहरुलाई सरकार छाड्न भन्नुभएको बताइएको छ । कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा दिने घोषणा गर्नुभएको छ भने स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि राजीनामाको पक्षमा रहेको बुझिन्छ । यस्तो परिस्थिति विकास भएपछि प्रधानमन्त्री ओलीले आफू निकटहरुसँग गम्भीर परामर्श गरिरनुभएको बुझिएको छ । 

स्रोत अनुसार प्रधानमन्त्री ओलीले आज दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाउनुभएको छ ।

प्रतिकृया दिनुहोस