भारतको नयाँ नीति परिवर्तनले नेपालका स्टिल उद्योगमा ठूलो संकट
काठमाडौं। भारतले स्टिलजन्य उत्पादनका लागि कच्चा पदार्थमा गुणस्तरको लोगो (बीआईएस) अनिवार्य गरेपछि नेपालका दुई प्रमुख स्टिल उद्योग संकटमा परेको छ। यस नीतिमा परिवर्तन हुँदा विगत तीन महिनादेखि नेपालबाट स्टिलका भाँडाकुँडा र पानी ट्याङ्कीको निर्यात पूर्ण रूपमा ठप्प भएको छ।
यो संकटसँगै नेपालको स्टिल उद्योगको आर्थिक अवस्था झनै खराब भएको छ। त्यसको असर स्थानीय रोजगारमा पनि परेको छ र हजारौं श्रमिकहरू आफ्नो काम गुमाउन बाध्य भएका छन्। यसले राज्यको कर संकलनमा पनि गिरावट ल्याएको छ।
भैरहवा सेजमा सञ्चालन भइरहेको भिस्तार ग्लोबल र पञ्चकन्या कम्पनीहरूले स्टिलका भाँडावर्तन र पानी ट्याङ्की उत्पादन गर्दै आएका थिए र ती उत्पादनहरूको राम्रो हिस्सा निर्यात हुँदै आएको थियो। अहिले भने यी उत्पादनहरूमा आएको ठप्पावका कारण कम्पनीहरूले ठूलो आर्थिक संकटको सामना गरिरहेका छन्।
नेपालका अधिकांश स्टिल उद्योगहरूले चीनबाट कच्चा पदार्थ ल्याएर भारतसहित अन्य मुलुकहरूमा निर्यात गर्दै आएका थिए। तर, भारतको हालको नीति परिवर्तनले नेपाली स्टिल उद्योगलाई गम्भीर असर पुर्याएको छ।
निर्यात पूर्ण रूपमा बन्द भएपछि पञ्चकन्याले आफ्नो उत्पादन बन्द गर्न विवश भएको छ भने भिस्तार ग्लोबलले उत्पादन ९५ प्रतिशतले घटाएको पाइएको छ।


प्रतिकृया दिनुहोस