सिन्धुलीमा भैंसी मासु उद्योग स्थापना हुँदै, ५ हजारभन्दा बढीलाई रोजगारी
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको गत मंसीरमा सम्पन्न चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले नेपालमा ठूलो लगानी गर्ने निर्णय गरेको छ। कम्पनीले सिन्धुलीको मारिण–४ मा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ।
यो उद्योगले वार्षिक दुई लाख मेट्रिक टन भैंसीको मासु र ५५ हजार मेट्रिक टन छाला, भित्री अंग तथा टाउको जस्ता सहायक उत्पादन उत्पादन गर्नेछ। उद्योग सञ्चालनमा आएपछि ५ हजार १५६ नेपालीलाई प्रत्यक्ष रोजगारी दिने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीका अनुसार, उद्योगबाट उत्पादित मासु करिब डेढ खर्ब रुपैयाँ बराबर चीन निर्यात गरिनेछ, जसले मुलुकको व्यापार घाटा न्यूनीकरणमा मद्दत पुग्नेछ। साथै, स्थानीय स्तरमा रोजगारी सिर्जना र कृषि–पशुपालनसँग जोडिएका अन्य क्षेत्रको समेत विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यसलाई नेपालका लागि वैदेशिक लगानी, निर्यात प्रवर्द्धन र आर्थिक समृद्धिको दिशामा ऐतिहासिक कदम भएको उल्लेख गर्नुभएकाे छ ।


प्रतिकृया दिनुहोस