यिनै हुन् ती डाक्टर जसकाे नेतृत्वमा काेराेनाकाे अाैषधि बन्दैछ
ओमाहा, नेब्रास्का, १४ फागुन (रासस-एपी) – कोरोना जीवाणु (भाइरस) उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा जारी रहेको अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । विश्वभर विभिन्न ५० स्थानका ४०० बिरामीलाई परीक्षणका लागि यो औषधि खुवाउने तयारी भइरहेको छ ।
अध्ययनमा समावेश हुने आधा बिरामीलाई एन्टिभाइरल औषधि (रेमडेसिभर) दिइने छ भने बाँकी आधालाई प्लासेबो दिइने छ । यही प्रकृतिको औषधि अर्को एक कम्पनीले पनि परीक्षण गरिरहेको छ । यद्यपी विश्वभर कोरोना उपचारका लागि धेरै किसिमका अध्ययनहरु हाल सञ्चालनमा छन् ।
नेब्रास्का मेडिकल सेन्टरका वैज्ञानिक डा आन्द्रे कालीलले चीनबाट फैलिएको कोरोना भाइरसको प्रकोप विश्वव्यापी बन्न लागेपछि सेन्टरले तत्कालै नयाँ औषधिको खोज शुरु गरेको बताए । कोविड–१९ सङ्क्रमण भएर अस्पताल भर्ना भएका बिरामीलाई यो औषधि परीक्षणका रुपमा खुवाउने सेन्टरको योजना छ ।
“अति जरुरीमा परेका मानिसलाई सेवा गर्नु नै हाम्रो मुख्य लक्ष्य हो,” डा कालीलले भने ।
जापानको क्रुज जहाजबाट उद्धार गरिएका १४ जनालाई यही नेब्रास्का मेडिकल सेन्टरमा भर्ना गरिएको छ । तीमध्ये १२ जनामा कोविड–१९ को सङ्क्रमण देखिएको छ ।
नयाँ र रहस्यमय यस कोरोना भाइरसको हालसम्म कुनै प्रामाणिक उपचार वा खोप अहिलेसम्म बनेको छैन । कोरोनाकै कारण हाल विश्वभर ८० हजारभन्दा बढी मानिसलाई सङ्क्रमित भइसकेका छन्, र २ हजार ७०० जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश चीनका नागरिक छन् ।
चिकित्सकहरुले ज्वरो, खोकी र सास फेर्न अप्ठ्यारो भएर उपचारका लागि आएका बिरामीलाई तरल पदार्थ र पीडा कम गर्ने औषधि मात्र दिइरहेका छन् । सख्त बिरामी व्यक्तिलाई चिकित्सकहरूले भेन्टिलेटर प्रयोग गरेर श्वास फेर्न मद्दत गर्दछन् वा मेसिनको प्रयोग गरेर शरीरभित्र अक्सिजन पम्प गराइन्छ जसले मुटु र फोक्सोको कामलाई केही सहज बनाउँछ ।
चीनमा जाइलेड साइन्सेजले निर्माण गरेको रेमडेसिभर आधारित औषधिको परीक्षण प्रयोग कम्तिमा दुई जना बिरामीमा गरिएको छ । अर्कोतर्फ, एचआईभीको औषधि बनाउन प्रयोग हुने लोपिनावीर र रीटोनावीरको सम्मिश्रणबाट पनि अर्को औषधि परीक्षण भइरहेको छ ।
विश्व स्वास्थ्य संगठनले गत महिना प्रकाशन गरेको एक प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा रेमडेसिभरलाई “सबैभन्दा सम्भाव्य” उपायका रुपमा स्वीकारेको थियो । कङ्गोका केही इबोला बिरामीहरूमा यो अध्ययनलाई छोटो परीक्षणका रुपमा प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोगशालाको अध्ययनमा नयाँ कोरोना भाइरससँग मिल्दाजुल्दा सार्स र मर्सको उपचार गर्न सकिने जनाएको छ ।
जाइलिडले यो औषधि थोरै बिरामीलाई प्रयोगका लागि उपलब्ध गराएको छ, जसमा वासिङ्टन राज्यका एक व्यक्ति पनि छन् जो कोरोना प्रकोपको केन्द्रमा रहेको चिनियाँ शहर उहानको भ्रमणपछि बिरामी भएका थिए । उनलाई अस्पतालमा भर्ना गरिएको छैन, तर रेमडेसिभरले उनलाई मद्दत गरेको थियो वा थिएन भन्ने केही थाहा हुन सकेको छैन ।
यसै बीच चीनमा पछिल्लो समय ५२ जनाको कोरोनाका कारण निधन भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ ।
पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार ४०१ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको पनि जनाएको छ ।
चीनमा हालका दिनहरूमा नयाँ सङ्क्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी बिल्कुलै देखिएका छैनन् ।
हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो । तर हुबेईको राजधानी उहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई सङ्क्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइ सकेको छ ।
दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११ जना पुगेको छ र सङ्क्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ । चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो । कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।
करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा सङ्क्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले योक्रम केही हप्तासम्म जारी रहन सक्ने बताउनुभएको छ ।
नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको बिमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् ।


प्रतिकृया दिनुहोस