ट्रम्प भन्छन्- गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ
नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रूपमा उभिने प्रतिबद्धता जनाएका छन् ।
भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाधीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको दृष्टीकोणमा अमेरिका उभिने बताएका हुन् ।
समाधीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्- 'स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रूपमा उभिन्छन्, यही नै तपाईंप्रति श्रद्धा सुमन छ ।'
महात्मा गान्धीलाई श्रद्धाञ्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएकी थिइन् । त्यहाँ उनीहरूले एक मिनेट मौन धारण गरे । उनीहरूलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरुप प्रदान गरे।
राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले वृक्षरोपण पनि गरे । दुई दिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएका थिए ।
रंगशालामा 'नमस्ते ट्रम्प' नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए । आफ्नो कार्यकालको अन्तिम वर्ष भारत भ्रमणमा आएका ट्रम्प मङ्लबार राती स्वदेश फर्किने कार्यक्रम छ ।
ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरूले विश्वास व्यक्त गरेका छन् ।


प्रतिकृया दिनुहोस