'गोदी र गोयबल्स शैलीको उल्टो प्रयोग'
-अमृत कुमार प्रसाईं
काठमाडाैं । लोकतन्त्रमा स्वतन्त्र मिडियाको अहम भूमिका हुने गर्छ। स्वतन्त्र मिडिया भनेको सरकारका गतिविधिमा निगरानी राख्ने, जनताको आवाज बुलन्द गर्ने, जनहितको लागि तथ्यमा आधारित भएर रिपोर्टिङ गर्ने निकाय हो। पछिल्लो समय नेपालमा एउटा गलत र चिन्ताजनक प्रवृत्ति देखापरेको छ। मिडिया र सामाजिक सञ्जाल प्रयोग गरी नियोजित प्रचार गर्ने, झुटो सूचना दिने, फगत आरोपहरू लगाउने र सरकारलाई निरन्तर एकपक्षीय भएर आलोचना गर्ने।
सबैभन्दा पहिले मैले दुईवटा टर्महरू "गोदी मिडिया" र "गोयबल्स शैली" बारे चर्चा गर्न लागेको छु।
के हो गोदी मिडिया?
यो यस्तो मिडिया अर्थात पत्रकारिता हो, जसले सरकार वा सत्तारूढ दलको आलोचना गर्न चाहँदैन। निष्पक्ष न्यूज रिपोर्टिङ नगरी, जनताको सवालमा सरोकार नराखी, सरकार वा सत्तारूढ दलको प्रचारप्रसारमा मात्र ध्यान दिन्छ अनि विपक्षी दललाई बदनाम गर्न मिडिया क्रियाशील रहन्छ। "गोदी मिडिया" शब्दको शुरुवात र प्रसार प्रसिद्ध भारतीय जनमुखी लेखक, पत्रकार, मिडियाकर्मीको रूपमा आफुलाई उभ्याएका रविश कुमार पाण्डेयले गरेका हुन्। "गोदी मिडिया" गोद शब्दबाट आएको हो, जसको अर्थ काख भन्ने हुन्छ। अर्थात् सरकारको काखमा बसेर चलाएको मिडिया भन्ने अर्थमा यसलाई लिइन्छ। भारतमा मात्र हैन, अन्य देशमा पनि अहिले यस्ता प्रकारका मिडियालाई "गोदी मिडिया" भन्न थालिएको छ।
गोयबल्स शैली चाहिँ के हो?
यो शैली जर्मन नाजी सरकार (हिटलर) का सञ्चार मन्त्री जोसेफ गोयबल्स (Joseph Goebbels) संग सम्बन्धित छ। यो शैलीको मुख्य विशेषता "सयौँ पटक झुटो कुरा गरिराख, मानिसहरूलाई त्यो सत्य जस्तो लाग्न थाल्छ" भन्ने हो। दोस्रो विश्वयुद्धमा जर्मनी हारिरहेको थियो, तर गोयबल्सले जर्मन सेनाले सबैतिर जितिरहेको प्रचारप्रसार गरिरहेका थिए। झुटो कुरालाई बारम्बार भनिरहेर जनमत निर्माण गर्ने शैली हो गोयबल्स शैली। उनले यहूदीहरूलाई जर्मनीको दुश्मनको रूपमा चित्रण गरेर, उनीहरूप्रति आम नागरिकमा एक प्रकारको घृणा फैलाएका थिए।
यी दुबै शैली अर्थात् मिडियाबाजी सरकारले संचालन गरेका सरकार संरक्षित मिडियाबाजी हुन्, तर नेपालको हकमा अहिले उल्टो धारमा यस्तो मिडियाबाजी चलिरहेको पाइन्छ। पछिल्लो समय "गोदी मिडिया" र "गोयबल्स शैली" को प्रयोग परम्परागत अर्थमा नभई अर्थात् सरकारबाट नभई विपक्षी वा सरकार विरोधी शक्तिहरूद्वारा भइरहेको देखिन्छ। कतिपय मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सरकारका हरेक कदमलाई नकारात्मक रूपमा प्रस्तुत गर्न, उपलब्धिलाई नजरअन्दाज गर्न र स-साना त्रुटिहरूलाई अतिरञ्जित गरेर जनतामा निराशा फैलाउने रणनीतिमा लागेका छन्। तथ्यको गहिरो विश्लेषण बिना नै गलत समाचारलाई डढेलो झैँ फैलाएर जनमानसमा सरकारप्रति घृणा र अविश्वास बढाउने प्रयास देखिन्छ, जुन परोक्ष रूपमा गोयबल्सको आधुनिक प्रयोग जस्तो देखिन्छ।
झुटाे तथ्य, भ्रामक भिडियो क्लिप तथा तर्कहीन आलोचनाको माध्यमबाट कसैको फगत बदनामी गर्नु सचेत नागरिकको अभिव्यक्ति हुन सक्दैन। सरकारको कमजोरी औल्याउनु, गलत कार्यमा सरकारलाई सचेत गराउनु, त्यस्तो कार्य रोक्नु वा रोक्न दबाब दिनु निश्चय नै असल नागरिकको कर्तव्य हो, तर तथ्यमा आधारित भएर मात्र। भर्खरैको राजावादी आन्दोलनबारे उपप्रधानमन्त्री समेत भैसकेका एउटा पार्टीका अध्यक्षले गरिमामय संसदमा खुल्ला प्रमाणहीन कुरा गर्छन्, अनि “के छ यसको प्रमाण?” भनेर सोध्दा “अरुले पनि यसै भने” भन्ने उत्तर दिन्छन्। त्यसैगरी अर्का एक विधायक पशुपतिमा लगाएको जलहरी पित्तलको हो भन्छन्, पछि चेकजाँच गर्दा उनको कुरा गलत निस्किन्छ। यस्तो कुरा गरिमामय संसदमा आउनु एकदमै दुःखद कुरा हो। मैले यहाँ यो लेभलका मानिसहरूलाई गोदी र गोयबल्स शैलीको उल्टो प्रयोगको उदाहरणको रूपमा मात्र चित्रण गर्न खोजेको हो।
सरकारले गरेका धेरै सकारात्मक र दीर्घकालीन प्रभाव पार्ने कामहरूलाई नियोजित रूपमा बदनाम गर्ने प्रयासहरू प्रशस्तै भएका छन्। राष्ट्रिय परिचयपत्र जस्तो डिजिटल शासनतर्फको कदमलाई डाटा सुरक्षाको नाममा भय फैलाएर विरोध गरिएको कुरा होस् या पालिकाहरूमा अस्पताल निर्माण गर्न गरिएको कार्य होस्। त्यसैगरी, कोभीड-१९ खोप अभियान, सुरुङ मार्गको विकास, रेल्वेको विकास, फास्ट ट्र्याक — हरेक कार्यमा भ्रामक, तथ्यहीन विरोध गरिएको पाइन्छ।
लोकतन्त्रमा आलोचना अपरिहार्य छ, तर आलोचना तथ्यमा आधारित, सन्तुलित र समाधानमुखी हुनुपर्छ। विपक्षी विचार राख्ने स्वतन्त्र मिडिया आवश्यक भएजस्तै, मिडियाको नाममा नियोजित प्रचार र अविश्वास फैलाउने प्रवृत्तिको प्रतिरोध गर्नु पनि उत्तिकै आवश्यक छ। अन्यथा, सत्य, न्याय र सुशासनको रक्षा गर्ने नाममा गरिने यस्तो एक पक्षीय सञ्चारले अन्ततः लोकतन्त्रको मर्म र जनताको विश्वास दुबै गुमाउने खतरा हुन्छ।
अतः लोकतान्त्रिक परिपाटीमा गोदी र गोयबल्स शैलीको सुल्टो र उल्टो प्रयोग दुबै हानिकारक हुन्। अस्तु।


प्रतिकृया दिनुहोस