• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सरकारले विश्वशनीयता गुमायो, फेल भयो– विश्वप्रकाश

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको सरकार एक वर्षमा फेल भएको दावी गरेका छन् । सरकार फेल भयो भन्नका लागि उनले रमाइलो उपमा प्रयोग गरेका छन् । 

कांग्रेस केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– ‘यो सरकारको एक वर्षे कार्यकाल तेस्रो श्रेणीमा पास हुन अंक नपुगेको जस्तो छ ।’

तेस्रो स्रेणीमा पास हुन अंक नपुगेको भन्नुको अर्थ ‘फेल’ हो ।

सरकारको एक वर्षे कार्यकालको मूल्यांकन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीका केही भनाईहरुको पनि जवाफ दिए । प्रधानमन्त्री ओलीले आफूले सत्ता समाल्दा मुलुकको अवस्था सहज नभएको बताएका थिए । 

‘प्रधानमन्त्री केपी ओलीले सरकार समाल्न सुरु गर्दा देशमा भयावह अवस्था थिएन’– कांग्रेस शर्माले भने– ‘सहज अवस्थामा उहाँले सरकार समाल्न सुरु गर्नुभएको हो । प्रतिकूल होइन, अनुकूल अवस्थामा नेतृत्व समाल्नुभएको हो ।’

ओलीको सो भनाइको जवाफमा शर्माले मुख्य तीन बूँदा अगाडि सारे । उनले गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले सरकार समाल्दाको अवस्था यसरी बताए–

गिरिजाप्रसाद कोइराला : उहाँले संविधानसभाको कठिन चुनाव गराएर गणतन्त्र कार्यान्वयन गर्नुपर्ने जस्तो जटिल अवस्था थियो, त्यस्तो जटिल अवस्था अहिलेका प्रधानमन्त्रीजीका सामु थिएन । 

सुशील कोइराला : संविधान बन्न नसकेर संविधानसभा विघटन भएको, त्यसपछि अनिश्चयको वातावरणमा चुनाव भएको र नयाँ संविधान बनाउनुपर्ने चुनौति सहित सुशील कोइराला प्रधानमन्त्री बन्दाको जस्तो प्रतिकूल अवस्थामा अहिलेका प्रधानमन्त्रीले नेतृत्व समाल्नुभएको होइन । 

शेरबहादुर देउवा : स्थानीय, प्रदेश तथा केन्द्र तीनै तहको चुनाव गराउनुपर्ने, मधेसलाई पनि विश्वाशमा लिएर जटिलतालाई चिर्दै अगाडि बढ्नुपर्ने अवस्था थियो, वर्तमान प्रधानमन्त्रीजीले त्यस्तो कुनै अवस्था भोग्न नपर्ने गरी नेतृत्व समाल्नुभएको हो । 

तीन प्रधानमन्त्रीको कार्यकालको वर्णन गरेपछि शर्माले भने– ‘शेरबहादुर देउवा  नेतृत्वको सरकारले मूलभूत राजनीतिक समस्या समाधान गरेर केही विषय सम्वोधन गर्न बाँकी रहेको बेला वर्तमान प्रधानमन्त्रीलाई अनुकूल अवस्थामा नेतृत्व हस्तान्तरण गरेका थियौं ।’ 

प्रधानमन्त्री ओलीको अर्काे भनाईमा पनि शर्माले टिप्पणी गरे– ‘हो, छानाको परिकल्पना गरिन्छ तर कसैले जगलाई नै हेरेर खोई त कोठाचोटा, खोई त छाना भनेर सोधिहाल्यो भने कसको के लाग्छ भन्नुभएको छ । विलकुल सही भन्नुभयो । जग खन्दा नै छानाको परिकल्पना त हुन्छ तर छानाको दृष्य देखिँदैन । यो एक वर्षमा वालुवाको जग हालिएको छ, त्यसैले कोठाचोटा र छानाको परिकल्पना नै गर्न परेन ।’

‘यो सरकारले पहिलो वर्षमा सबैभन्दा धेरै केही गुमायो भने विश्वशनीयता गुमायो’– शर्माले भने । यो एक वर्षमा संविधान संशोधनको फायल नै नखोलिएको उनले बताए ।

प्रतिकृया दिनुहोस