• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

पाल्पामा मकै छाडेर सूर्यमुखी

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

पाल्पा । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका छन् ।

कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १ सय ७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताए ।
 
परम्परागत मकैखेतीबाट सोचेजति आम्दानी लिन नसकेकाले सूर्यमुखीको परीक्षणस्वरुप पहिलोपटक खेती गरिएको धनबहादुर ठाडाले बताए ।

समुद्री सतहदेखि करीब एक हजार पाँच सय मिटर उचाइमा रहेको क्षेत्रमा किसानले अहिले पहिलोपटक सुर्यमुखी खेती गरेका हुन् । यसअघि परम्परागत ढङ्गबाट मकैखेती तथा केही तरकारी खेती गर्दै आएका थिए ।

बढी उत्पादन लिन हाइब्रिड सूर्यमुखी खेती गर्न लागेको आइपिएम कृषक पाठशालाका अध्यक्ष मीनबहादुर सुनारीले बताए । स्वास्थ्यका हिसाबले पनि सूर्यमुखीबाट उत्पादन हुने तेल फाइदाजनक मानिने उनको भनाई छ ।

यसपालि सूर्यमुखी खेतीको राम्रो उत्पादन लिनसके मित्याल क्षेत्रलाई सुर्यमुखीको पकेट क्षेत्रका रूपमा समेत विकास गर्ने कृषकको लक्ष्य छ । सूर्यमुखी उत्पादन भएपछि यसको बिक्री तथा तेल व्यवस्थापनका निम्ति सहयोग गर्ने निस्दी गाउँपालिका कृषि शाखा संयोजक नवराज घिमिरेले बताए । 

कृषि शाखाले सूर्यमुखीमा लाग्ने रोग किरा नियन्त्रणमा सहयोग गर्दै आएको शाखाले यसको बिक्री व्यवस्थापनमा समेत सहयोग गर्ने बताएपछि कृषक उत्साहित भएका छन् ।

- रासस
 

प्रतिकृया दिनुहोस