सामुदायिक वनका उपभोक्तालाई मौरी गोला सहितको घार
काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ गैरीकटेरी ७८ घर परिवारलाई मौरीका गोला सहितका आधुनिक घार वितरण गरिएको छ ।
भिरचुली सामुदायिक वन उपभोक्ता समूह र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए) को आर्थिक सहयोगमा सो कार्य गरिएको हो । सामुदायिक वन समूहका अध्यक्ष रिम बहादुर बस्नेतका अनुसार सो कार्यका लागि ६ लाख ७५ हजार रुपैँया इविए आयोजनाबाट र वन समूह बाट ५० हजार ४ सय रुपैँया गरी ७ लाख २५ हजार ४ सय रुपैँया खर्च भएको छ ।
सो क्षेत्र मौरीपालनका लागि अनुकूल भएकोले मौरी वितरण गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । ‘आगामी दिनमा यसलाई व्यावसायिक रूपमा विस्तार गर्दै आयआर्जनसँग जोड्ने लक्ष्य राखेका छौँ’, उहाँले भन्नुभयो ।
आयोजना जिल्ला संयोजक दिगम्बर दाहालका अनुसार मौरीपालनलाई व्यावसायिक बनाउन यो पहल गरिएको हो । ‘स्थानीयको आर्थिक उन्नति गर्न उद्यमशीलतासँग जोड्नु आवश्यक छ, त्यसको लागि यो सहयोग गरेका हौँ’, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै बनगाड कुपिण्डे नगरपालिका–७ का वडा अध्यक्ष जीवनसिंह ठकुरीले कुनै पनि काम गर्दा व्यावसायिक रूपमा गर्नुपर्ने बताउनुभयो । सो सामुदायिक वनले अन्य समूह भन्दा राम्रो काम गरेको कारण सहयोगीले पनि पत्याएका ठकुरी बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य बहादुर कवर, शिक्षक नारद घर्ती, गोविन्द कवर, नेपाल पत्रकार महासंघ सह सचिव इन्द्रबहादुर बुढाथोकी, लगायतको उपस्थिति थियो ।
कार्यक्रममा वन समूहका अध्यक्ष रिमबहादुर बस्नेतले आफ्नो भागमा परेको मौरी गोला सहितको घार पनि सामुदायिक वनका अर्का उपभोक्तालाई प्रदान गर्नुभएको छ ।


प्रतिकृया दिनुहोस