• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सिमेन्टकाे मूल्य घटेको उत्पादकको दाबी 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगी र निर्माण व्यवसायीहरूसँग छलफल गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घले सिमेन्टको मूल्य नघटेको गुनासो गरेपछि मन्त्रीले दुवै पक्षसँग सिंहदरबारमा छलफल गर्नुभएको हो ।

छलफलका क्रममा निर्माण व्यवसायीहरूले सिमेन्ट उत्पादकहरूले बढाएको मूल्य यथावत् राखेको गुनासो गर्नुभयो । उत्पादकले भने मूल्य घटेको दाबी गरेका छन् । 

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अधिकांश सिमेन्ट उद्योगीहरूले बढेकै मूल्यमा कारोबार गरिरहेका गुनासो गर्नुभयो । सिमेन्ट उत्पादकहरूले कार्टेलिङ समेत गरिरहेको निर्माण व्यवसायीको आरोप छ ।   

सिमेन्ट उत्पादकले भने गत महिना मन्त्री भण्डारीकै पहलमा भएको सहमतिलाई कार्यान्वयन गरेको दाबी गरेका छन् । उक्त मूल्य भन्दा दायाँबायाँ भएको अवस्थामा आफूहरू कारबाही सहन तयार रहेको उनीहरूको प्रतिबद्धता छ । 

सिमेन्ट उत्पादक संघका अध्यक्ष रघु नन्दन मारुले उधारोमा कारोबार गर्दा केही रकम बढी लिएको हुन सक्ने भए पनि सिमेन्टका मूल्य घटाएको बताउनुभयो । उहाँले सिमेन्टमा कार्टेलिङ नभएको दाबी समेत गर्नुभयो । 

उद्योग मन्त्री भण्डारीले सिमेन्ट उद्योगीले सहमति कार्यान्वयन नगरेको अवस्थामा सरकारले अन्य विकल्प खोज्न बाध्य हुने बताउनुभयो । गत महिना सिमेन्टको भाउ अस्वाभाविक रूपले बढाइएको आम उपभोक्ता तथा निर्माण व्यवसायीको गुनासो थियो । 

यसको सहजीहकरणका लागि मन्त्री भण्डारीले सम्बन्धित पक्षसँग पटक पटक संवाद गर्दै उपयुक्त मूल्य निर्धारणका लागि पहल गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस